धरान । राष्ट्रपति रामचन्द्र पौडेलले धर्म नै मानव सेवा भएको बताएका छन् । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित राधाकृष्ण प्रणामी मन्दिरले निर्माण गरेको धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको उद्घाटनको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘धर्म मानव सेवा हो । मानवभित्र आपसी मित्रता, सद्भाव कायम हुन आवश्यक छ ।’
राष्ट्रपति पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै रहेको बताए । उनले आध्यात्मलाई अहिले विश्वले अँगाल्दै आएको बताए । उनले समाजमा शान्ति, एकता कायम गर्नका लागि आध्यात्मले महŒवपूर्ण भूमिका खेलेको बताए । उनले मानवीय सेवा र धर्मलाई मानवीय सेवासँग जोड्न आवश्यक रहेको बताए । उनले मुलुकै उत्कृष्ट अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको स्थानमा धर्मशाला निर्माण गरिनु राम्रो पक्ष भएको बताए । उनले धर्मशास्त्रहरूमा पनि धर्मलाई परोपकारको रूपमा लिएको बताए ।
यस्तै विशेष अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण प्रणामी मन्दिर मानवीय सेवामा समर्पित हुँदै गएको बताए । उनले गरिब तथा असहायहरूले धर्मशालाबाट भरपूर सहयोग लिन आग्रह गरे । उनले आगामी वर्ष भवनलाई थप विस्तार गर्न बजेट छुट्याउने प्रतिबद्धता गरे । राधाकृष्ण प्रणामी मन्दिर ५० वर्ष पुगेको अवसरमा १६ कोठे धर्मशाला निर्माण सम्पन्न गरिएको छ । यस्तै ब्रह्मलीन बाबाजी श्री १०८ गोपीदास महाराजजीको स्मृतिमा गोपी स्मारक ध्यान साधानालय निर्माण गरिएको छ । मन्दिरले स्वर्ण महोत्सवका अवसरमा शुक्रबारदेखि आइतबारसम्म विविध कार्यक्रम गरी मनाइरहेको छ ।
यस क्रममा
श्रीमततारम सागर एवम् श्रीमद्भागवत महापुराणको त्रिदिवसीय अखण्ड पाठ पारायण
गरिँदै छ । यस्तै ब्रह्मलीन परम्हंस बाबाजी श्री १०८ गोपीदासजी महाराजको
पावन स्मृतिमा पाठ साथै विविध धार्मिक कार्यक्रम गरिरहेको मन्दिरका
संस्थापक अध्यक्ष तथा स्वर्णमहोत्सव संयोजक नेत्रप्रसाद आचार्यले जानकारी
दिए । धर्मशाला तीन करोड १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको संयोजक
आचार्यले जानकारी दिए ।