बिर्तामोड
घटना–१ : झापाका एक व्यवसायीलाई केही समय पहिले सामाजिक सञ्जाल फेसबुकमा एक युवतीको फ्रेन्ड रिक्वेस्ट आयो । उनले युवतीको प्रोफाइल चेक गरे । कुनै बैङ्कमा कार्यरत कर्मचारीजस्तो देखेपछि साथी बनाए ।
फेसबुकमा जोडिएपछि उनीहरूबीच परिचय भयो । परिचयका क्रममा उनले आफू ग्लोबल ओरियन्समा काम गर्ने कर्मचारी भएको बताइन् । ग्लोबल ओरियन्सको बारेमा सामान्य बुझेका उनले ती युवतीबाट थप जानकारी हासिल गरे । युवतीले उनलाई ओरियन्सको सदस्य बन्न दबाव दिइन् । सदस्य बन्न इन्कार गरेपछि उनले ओरियन्सका उत्पादन खरिद गर्न अनुरोध गरिन् । युवतीको पटक–पटकको अनुरोध ती व्यवसायीले अस्वीकार गरेपछि युवतीले उनलाई साथीबाट हटाइन् ।
घटना–२: झापा मेचीनगर–१३ का नियन राजवंशी स्नातक तह अध्ययन गर्छन् । आर्थिक अवस्था कमजोर भएका राजवंशी अध्ययनसँगै निर्माण मजदुरका रूपमा काम गर्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले बीचमै पढाइ छाडे र पूर्णकालीन निर्माण मजदुरका रूपका कार्यरत छन् । यसैबीच उनको भेट क्याम्पसको साथी मेचीनगरकै आरती सुवेदीसँग भयो । टाई सुटमा देखिने सुवेदीले केही लगानी गरे सातामै १५ हजारसम्म आम्दानी गर्न सकिने प्रलोभन देखाइन् ।
राजवंशीका अनुसार सुवेदीको व्यक्तित्व पनि पत्याउनलायक थियो । राजवंशीले सुवेदीको कुरामा एक शब्दमै विश्वास गरे । उनी सुवेदीसँगै बिर्तामोडमा रहेको ओरियन्सको कार्यालयमा आए । बिर्तामोडमा अफिस छ भन्दै बोलाइएका राजवंशीलाई सुवेदीले चिया पसलमा राखेर डिल गरिन् । उनलाई अफिस लगिएन । सर, भन्दै एक जना २०–२२ वर्ष उमेरको युवासँग भेट गराइयो । सुवेदी र ती युवा मिलेर केहीबेरको डिलपछि राजवंशीलाई २ हजारको टिकट कटाए । उनले आफ्नो करियरमा टेवा पुग्ने अपेक्षासहित २ हजार तिरे । त्यसपछि तालिम भन्दै उनलाई १५ दिन ‘लाइफ चेन्जिङ सेमिनार’ का नाममा बिर्तामोडमा राखियो । १५ दिन बसे बापत राजवंशीले थप ३ हजार बुझाउनु परेको थियो ।
जब सेमिनार सकियो, त्यसपछि उनीसँग ‘सेकेण्ड स्टार लेभल’ को प्याकेजमा आबद्ध हुन प्रलोभन देखाइयो । सेकेण्ड स्टार लेभलका लागि राजवंशीले ३६ हजार ५ सय ओरियन्सलाई बुझाए । त्यस बापत उनले २१ हजार ६ सय ९० रुपैयाँको सामान पाए । १४ हजार ८ सय १० रुपैयाँको सामान उनले अहिले पनि लगेका छैनन् । स्त्रीरोग, जण्डिस, मुटुरोग, कुलत छुटाउने, किड्नी, हाडजोर्नी समस्याको उपचार हुने भन्दै दिइएको सामानमा उनले विश्वास गरेर बुझे । उनले केही सामान बिक्रीसमेत गरे । बिक्री गरेको सामानको सबै रकम कम्पनीलाई दिए । सो रकम बुझाएपछि आफूले पनि केही रकम कमिसन पाइन्छ भन्ने आशा उनमा थियो । जब उनी बिक्री बापतको कमिसन माग्न अफिस गए, त्यो बेला उनलाई थप साथीहरू अनिवार्यरूपमा जोडेमात्रै कमाइ हुने बताइयो । त्यो घटनाले राजवंशी आश्चर्यमा परे ।
गतवर्षको वैशाखमा राजवंशी ओरियन्समा जोडिएका थिए । त्यो घटनापछि उनी निर्माण मजदुरकै काममा फर्किएका छन् । किनभने उनलाई त्यहाँ ज्याला सुनिश्चित थियो । त्यसको केही समयपछि राजवंशी एक जना साथी लिएर बिर्तामोडमा रहेको ओरियन्सको कार्यालयमा आए । अफिस पुगेर त्यहाँ उनले आफ्नो तिरेको रकम फिर्ता मागे । आफूले लगेको सामान फिर्ता दिन्छु पनि भने । तर, उनलाई अफिसमा रहेका कर्मचारी र उनको सुवेदी साथीले वास्ता गरेनन् । निर्माण मजदुरी गरिरहेका राजवंशीलाई सुवेदीले यति पढेको मान्छे बेल्चा चलाउन छोडिदेऊ, स्मार्ट व्यापार गर्नुपर्छ भन्दै फकाएकी थिइन् । आफ्नै साथीले राम्रै काम भनेको होला भन्ने विश्वासले राजवंशीले मजदुरी गरेर कमाएको रकम ओरियन्समा लगानी गरेर डुबाए ।
राजवंशीको लगानी डुबेपछि उनी पटक–पटक बिर्तामोड धाएर केही पैसा उठाउने प्रयास गरे । एक जना साथी लिएर उनीहरूलाई राखेको कोठामा आएका राजवंशीले चिनेको अर्को साथी भेटे । त्यो दिन उनले आफ्नो घरायसी समस्यामा परेको भन्दै लगानी फिर्ताको कुरा गर्दा ओरियन्सका विमल वन र रोहन लिम्बूलगायतले राजवंशीलाई केहीबेर कोठामै थुने । पछि लगानी माया मारेपछि उनी त्यहाँबाट निस्किएका थिए ।
राजवंशी मात्रै होइन, ओरियन्सबारे समाचार प्रकाशन भएपछि रकम बुझाएका थुप्रै युवायुवतीहरू सम्पर्कमा आएका छन् । कतिपय टाढाबाट आएकाहरू रकम अभावका कारण घर फर्किनसमेत नसकिरहेको सूचना प्राप्त भएको छ । ओरियन्समा आबद्ध भएका धेरै युवायुवतीहरूले आफ्नो लगानी उठाएर घर फर्किने योजना बुनेका छन् । ऋणपान गरेर गरेको लगानी उठाउन असाध्यै गाह्रो भएपछि बाध्यताले ओरियन्ससँग जोडिनु परेको उनीहरूको गुनासो छ । राजवंशीले ओरियन्समा लागेर धेरै युवायुवतीहरू ठगिएको सुनाए । उनले भने, ‘सामान बेचेर पैसा कमाइ हुन्छ भन्नु भ्रम हो । पिरामिड शैली (नेटवर्किङ) मा साथीहरू जोड्दै जाँदा मात्रै कमाइ हुने रहेछ ।’ ओरियन्सले आफ्नो सामान व्यापार गर्न र युवायुवतीहरूलाई सामान बिक्रीका लागि प्रयोग मात्रै गर्ने गरेको राजवंशीको भनाइ छ । उनले नेटवर्किङ शैलीमा साथीहरूसमेत ठगिने भएकाले आफूले त्यो काम छोडेको स्पष्ट बताएका छन् ।