धरान । नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार नेपालमा महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८.९८ प्रतिशत छ ।
त्यस्तै अन्य लिङ्गीको सङ्ख्या दुई हजार ९ सय २८ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यो देशको जनसङ्ख्याको ०.००१ प्रतिशत हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले गतवर्ष कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणना गरेको थियो । यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । शुक्रबार सार्वजनिक भएको विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९ सय २ कम देखिएको हो ।
सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ जनसङ्ख्या छ भने सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला मनाङमा पाँच हजार ६ सय ८५ जना मानिस छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसङ्ख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६ सय २४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९ सय ४८ जना) जनसङ्ख्या रहेको छ । प्रदेशगत रूपमा जनसङ्ख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसङ्ख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ ।
नेपालमा सबैभन्दा बढी १५ देखि १९ वर्ष समूहका नागरिक रहेका छन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार ५–५ वर्षको समूहमा विभाजन गर्दा यो उमेर समूहको जनसङ्ख्या २९ लाख ६६ हजार ४ सय ४ जना यो उमेर समूहका नागरिक देखिएका छन् । यसपछि १० देखि १४ वर्ष उमेर समूहका १० प्रतिशत नागरिक रहेका छन् । ९० देखि ९४ वर्ष उमेर समूहका १७ हजार २ सय १५ जना र ९० वर्षमाथिका १० हजार ४ सय २४ जना देखिएका छन् ।
त्यस्तै देशभर ७५ लाख ५२ हजार ६६ घरसङ्ख्या देखिएको छ । सबैभन्दा धेरै घर बागमती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा घर रहेको देखिएको हो । बागमती प्रदेशमा १५ लाख ७५ हजार ८ सय २४ घरसङ्ख्या रहेकोमा कर्णालीमा चार लाख ३९ हजार ७ सय १७ मात्रै रहेको छ । ६.३ प्रतिशत घर भने प्रयोगविहीन (खाली रहेका) छन् । ७१ प्रतिशत आवासीय घर रहेका छन् भने १०.१ प्रतिशत घरमा गोठ तथा धन्सारहरू रहेका छन् ।
चार लाख ७२ हजार प्रयोगविहीन रहेको देखिएको छ । व्यापारिक प्रयोजनका लागि दुई लाख ३३ हजार १ सय ९० घर रहेकोमा ३२ हजार १ सय ४४ घरमा उद्योग कलकारखाना रहेका छन् । ६ हजार ७ सय १७ घर बैङ्क तथा वित्तीय संस्थाले प्रयोग गर्दा सरकारी भवन २८ हजार १ सय ६२ रहेका छन् ।