देउराली । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) २४ घण्टे अल्टिमेटम दिएका वडाध्यक्षहरूले आन्दोलनका कार्यक्रमहरू अघि बढाएका छन् ।
आइतबार उपमहानगरपालिका परिसरमा ५ बुँदे माग राख्दै २४ घण्टे अल्टिमेटम दिएका उनीहरूले नगर प्रमुख साम्पाङले उक्त मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रमहरू अघि बढाएका हुन् ।
उक्त आन्दोलन अन्तरगत (मंगलबार) आजबाट कार्यपालिका सदस्यहरूले हातमा कालो पट्टी बाँधेर विरोध जनाउनुका साथै उपमहानगरका नियमित कार्यबाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न उपमहानगरका प्रशासकीय अधिकृतसहित उपमहानगरका सम्पूर्ण महाशाखा, शाखा प्रमुखलाई ध्यानाकर्षण समेत गराएका छन् ।
आज अपराह्न ४ बजे प्रशासकीय अधिकृत मात्रिक भट्टराई तथा अन्य महाशाखा तथा शाखाहरूमा नेपाली काँग्रेसका उपमहानगर कार्यपालिका संसदीय दलका नेता वडा नम्बर १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई, नेकपा एमालेका संसदीय दलका नेता १५ का अध्यक्ष, नरेश इवारम र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई लगायतले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
राई, भट्टराई र इवारमको हस्ताक्षर रहेको उक्त पत्रमा भनिएको छ । " प्रमुखको निजी सचिवालयको हैसियतमा २० वटै वडामा आएको पत्रलाई लिएर चैत १ बसेको कार्यपालिका बैठकमा वडा नम्बर १० का वडाध्यक्ष ले अभिमत राखेकै आधारमा लिखित स्पष्टीकरण सोध्ने र कर्मचारीलाई विना कारण कारबाही गर्ने जस्ता कार्य गरेकोले सम्पूर्ण कार्यपालिका सदस्यहरूले प्रेस विज्ञप्ति मार्फत नगर प्रमुखको ध्यानाकर्षण गराएको भए पनि हालसम्म समस्या समाधान गर्नका निमित्त कुनै पनि प्रयास नगरेकोले कार्यपालिकाका सम्पूर्ण सदस्यहरूको समन्वयन र सहमति विना दैनिक नियमित कार्यहरू बाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने किसिमका कुनै पनि किसिमका निर्णयहरू नगर्नु/ नगराउनु हुन अनुरोध गरिन्छ । "
ध्यानाकर्षण पत्र बुझाउने क्रममा उपमहानगरका प्रवक्ता समेत रहेका वडा नम्बर १७ का अध्यक्ष भट्टराई ले कार्यपालिका सदस्यले उठाएका मागहरूको सम्बोधन नभएसम्म आन्दोलमा नै रहने बताएका छन् । उनले आगामी दिनमा थप सशक्त आन्दोलन गरिने बताए ।