सुनसरी । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा भएसँगै सुनसरीका विद्यार्थी सङ्गठनहरू चुनावी तयारीमा जुटेका छन् ।

आगामी फागुन २४ गते निर्वाचन गर्ने गरी त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै ठूला विद्यार्थी सङ्गठन त्यसको तयारीमा लागेका हुन् । विगतका हरेक स्ववियु निर्वाचनमा वर्चश्व कायम राख्दै आएको नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र नेपाली काङ्ग्रेस निकट नेविसङ्घले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएको छ भने अनेरास्ववियु क्रान्तिकारीले आफ्नै हिसाबले तयारी थालेको छ । 

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिकाअनुसार फागुन १९ गते सङ्गठन दर्ता, २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, २५ गते उम्मेदवारका लागि मनोनयन–पत्र वितरण, २७ गते उम्मेदवारको नामावली प्रकाशन, २८ गते उम्मेदवारमाथि दाबी विरोध सोही दिन दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन, २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चैत्र ५ गते मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । 

आगामी स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घले केही दिनअघि मात्रै इटहरीका प्रमोद भट्टराईलाई सुनसरी सभापतिको जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएलगत्तै आफूहरू निर्वाचनलक्षित गतिविधिमा सक्रिय भई लागेको भट्टराई बताउँछन् । सुनसरीका प्रत्येक क्याम्पसमा विद्यार्थीको प्रतिभा प्रष्फुटन हुने खेलकुद गतिविधिका साथै विचार गोष्ठी आदान–प्रदान गरी विद्यार्थीलाई नेविसङ्घ के हो भन्नेबारे जानकारी गराउने काम गरेको उनले बताए । राष्ट्रिय रूपमा माटोअनुसार शिक्षा हुनुपर्छ भन्ने नेविसङ्घको यसपटक मुख्य एजेन्डा भएको बताउँदै उनले भने, ‘इलाममा पढ्ने विद्यार्थीले चियाको बारेमा र मधेसका विद्यार्थीले कृषिका बारेमा पढ्न पाउनुपर्छ ।’ यस्तै जिल्लागत हिसाबले जुन क्याम्पसमा जुन समस्याहरू छन् । सोहीअनुसारका एजेन्डा लिएर चुनावमा जाने तयारी गरेको सभापति भट्टराई बताउँछन् । स्ववियु निर्वाचनभन्दा पनि नेविसङ्घ प्रत्येक क्याम्पसमा विभिन्न विचार गोष्ठी र अतिरिक्त गतिविधिमार्फत् विद्यार्थीसँग नजिक भएकोले आफ्नो पक्षमा नतिजा आउने उनको तर्क छ ।

सुनसरी जिल्लामा यसपटक ७ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने तयारी भएको छ । जसअनुसार सुनसरी बहुमुखी क्याम्पस इनरुवा, सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टी, जनता बहुमुखी क्याम्पस इटहरी, महेन्द्र बहुमुखी क्याम्पस धरान, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरान र पिण्डेश्वर विद्यापीठमा चुनावी तयारी थालिएको छ । यीमध्ये पिण्डेश्वर विद्यापीठमा शुल्कविना नै गैरकानुनी तवरबाट नेकपा (एमाले) निकट अनेरास्ववियुले १७ जना विद्यार्थी भर्ना गराएको भन्दै नेविसङ्घले उक्त क्याम्पसमा तालाबन्दी गरेकोले चुनावी गतिविधि हुन सकेको छैन । निर्वाचनको मिति नजिकिँदै गएपछि अनेरास्ववियुले शुल्क नबुझाई विद्यार्थी भर्ना गराएको भन्दै नेविसङ्घले दुईहप्ता अगाडि गरेको तालाबन्दीमा आफूहरूको समर्थन रहेको नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु क्रान्तिकारी सुनसरीले जनाएको छ । ‘पिण्डेश्वर विद्यापीठ भनेको थोरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस हो’ अनेरास्ववियु क्रान्तिकारी सुनसरीका अध्यक्ष नवीन दाहालले भने, ‘त्यसैले १७ जना विद्यार्थी पनि निर्णायक सावित हुनसक्छ, त्यसैकारण नेविसङ्घले गरेको तालाबन्दीमा हाम्रो पनि समर्थन छ ।’ लामो समयसम्म स्ववियु निर्वाचन नहुँदा विद्यार्थीमा राजनीतिप्रति निराशा बढेको उनले बताए । १४ वर्षसम्म स्ववियु निर्वाचन नहुँदा राजनीतिप्रति धेरै वितृष्णा आएको बताउँदै अनेरास्ववियु क्रान्तिकारी सुनसरीका अध्यक्ष दाहालले भने, ‘सामाजिक र आर्थिक परिस्थिति तथा समय र प्रविधिबीचको फरकले विद्यार्थीमा निराशा जगायो । त्यो चिज हल हुने गरी युवाहरूमा भरोसाको केन्द्र बन्ने गरी अनेरास्ववियु क्रान्तिकारीले नयाँ नेतृत्व आवश्यक छ ।’ शैक्षिक बेरोजगारीविरुद्ध यसपटकको स्ववियु निर्वाचनले नयाँ भूमिका खेल्नुपर्ने उनको भनाइ छ । अहिले जुन जनशक्ति विदेश पलायन भइरहेका छन् । त्यसलाई रोक्न यो निर्वाचन निर्णायक हुनुपर्नेमा दाहाल जोड दिन्छन् ।

यता नेकपा (एमाले) निकट अनेरास्ववियु सुनसरीका अध्यक्ष नवराज खड्का आफूहरूको बलियो उपस्थिति भएको पिण्डेश्वर विद्यापीठमा नेविसङ्घले तालाबन्दी गरेको बताए । आफूहरू स्ववियु निर्वाचनको मिति घोषणा हुनुभन्दा अगाडि देखिने क्याम्पसमा गतिविधिहरू गर्दै आएको उनी बताउँछन् । अनेरास्ववियुले केन्द्रीय कमिटीले बनाएको एजेन्डाअनुसार नै चुनावमा जाने तयारी गरेको अध्यक्ष खड्काले बताए । अनेरास्ववियु सुनसरीले हरेक क्याम्पसमा सुझाव र समस्या सङ्कलन गर्दै स्थानीय समस्यालाई प्राथमिकतामा राखेर घोषणा–पत्र बनाउने कार्य गरिरहेको उनले बताए । ‘जिल्ला कमिटी समन्वयकर्ता मात्रै हो । सबैथोक गर्ने क्याम्पस कमिटीले हो । सोहीअनुसार उनीहरू आ–आफ्नो घोषणा–पत्र बनाउँदैछ, कहाँ के समस्या छ, त्यसलाई उचित समाधान हुने गरी हाम्रो एजेन्डा हुनेछ’–उनले भने ।