भद्रपुर । दुवै देशबीच सम्झौता भएको ७ वर्षपछि मितेरी पुल सञ्चालनमा आएको छ । चौतर्फी दबावपश्चात् नेपाल र भारतका भन्सार तथा सुरक्षा अधिकारीहरूको गत पुस ६ मा बसेको द्विपक्षीय बैठकले ‘मितेरी पुल’ सहित एसियन हाई–वे जनवरी १ देखि सञ्चालन गर्ने लिखित सहमति गरेअनुसार पुल सञ्चालनमा आएको हो ।

विगत २०७३ मा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेची नदीमा ५ सय ७५ मिटर लामो ‘मितेरी पुल’ निर्माणका लागि सम्झौता गरेका थिए । नेपाल–भारत सीमा नाका काँकडभिट्टामा निर्माण सम्पन्न भएको सो पुल आइतबारदेखि सञ्चालनमा आएको हो ।

मेची नदीमा निर्माण सम्पन्न भएको झन्डै दुई वर्षपछि नेपाल–भारत सीमा नाका जोड्ने मितेरी पुल सञ्चालनमा आएसँगै एसियन हाई–वेमा पनि आइतबारदेखि पूर्णरूपमा आवत–जावत खुला गरिएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सीमा नाकामा ६ लेनको मितेरी पुल सञ्चालनमा आएसँगै स्थानीय हर्षित देखिएका छन् । नेपालतर्फको मेची भन्सार कार्यालय र भारततर्फको नक्सलबारी भन्सार कार्यालयका प्रमुखहरूले आइतबार आ–आफ्नो मुलुकको झन्डा फहराउँदै यातायातका सवारीसाधनलाई प्रस्थान गर्न अनुमति दिएर मितेरी पुल सञ्चालनमा ल्याएका हुन् ।

मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक र नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त ल्हा छिरिङ शेर्पाले आ–आफ्नो भूमिमा उभिएर पुल सञ्चालन गर्नुअघि रिबन काटेका थिए ।

मितेरी पुलको लम्बाइ ५ सय ७५ मिटर रहेको छ । पुरानो मेची पुल नजिकैको पूर्वपट्टि मितेरी पुल बनाइएको हो । उद्घाटनअगावै मितेरी पुलबाट ठूला मालवाहक सवारीसाधनलाई मात्र ओहोर–दोहोर गर्ने अनुमति दिइएको थियो । अब सवारीसाधनसहित पैदलयात्रीले पनि मितेरी पुल प्रयोग गर्न पाउने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

तर, त्यसका लागि पनि केही नियम बनाएको उनको भनाइ छ । पानीटङ्की बजार भर्न जानेहरूको हकमा पुरानो पुल प्रयोग गर्नुपर्ने र नयाँ पुलमाथिबाट टाढा गन्तव्य जानेहरूले मात्र प्रयोग गर्न पाउने उनले जानकारी दिए । टेम्पो, अटो रिक्सा, मोटरसाइकल र साइकललाई सम्भवतः पुरानो पुल प्रयोग गर्न लगाइने उनको भनाइ छ । पुल सञ्चालनमा आएसँगै पुरानो पुलमा हुने ट्राफिक जाम अन्त्य भएको उनको भनाइ छ ।

६ लेनको नयाँ पुल फराकिलो र सुविधाजनक भएकोले नाकामा आवागमन सहज हुने मेची भन्सार कार्यालयका प्रमुख पाठकले बताए । नयाँ पुलबाट सबै प्रकारका सवारीसाधनले आवागमनको अनुमति पाएको उनले बताए ।

एसियन हाई–वे सञ्चालनमा आए पनि तेस्रो मुलुकका पर्यटकले अनुमति नपाउँदा पर्यटन व्यवसायी मारमा परेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर(नेत्र)कार्कीले बताए । कोरोनाको समयमा बन्द गरिएका सबै नाका हाल खुला गरिए पनि बङ्गाल सरकारले भारतको पानीटङ्की रानीगञ्ज नाका नखुलाउँदा समस्या भएको उनको भनाइ छ ।

पैदलमार्ग बन्द गराएका कारण तेस्रो मुलुकबाट आउने पर्यटक बङ्गाल नाका आएर फिर्ता जानु परेको र हवाई मार्गबाट नेपाल प्रवेश गरेका पर्यटकसमेत काँकडभिट्टा आएर रोकिँदा समस्या भएकोले तत्काल नेपाल सरकारले भारतीय सरकारसँग समन्वय गरेर नाका सहज बनाउनु पर्ने उनको माग छ । 

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास बैङ्क (एडीबी) को करिब डेढ अर्ब भारु ऋण सहयोगमा भारतले ६ लेनको पुल निर्माणसँगै ५ सय मिटर एप्रोच सडक निर्माण गरिदिएको छ ।

पुल तथा सडक निर्माणको क्रममा मेचीनगर–६ काँकडभिट्टा पश्चिमी भागमा बसोबास गरेका ४३ परिवारलाई नेपाल सरकारले तीन करोड ३७ लाख रुपैयाँ मुआब्जा दिएर त्यहाँबाट हटाएका थिए ।