‘राजनीतिक दलले राम्रो काम नगर्दा मतदाता निराश भए ।’
- डा.अमृतकुमार श्रेष्ठ, विश्लेषक
‘बसाइँसराई, विवाह गरेर जान्छन्, मतदाता नामावली स्थानान्तरण गर्दैनन् । जसले मतदान गर्न पाउँदैनन्’
-कृष्णप्रसाद पौडेल, निर्वाचन अधिकारी
विजयपुर । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा १ लाख २२ हजार ६ सय ९१ मतदाता थिए । कुल मतदातामध्ये ६२ दशमलव ८३ प्रतिशत अर्थात् ७७ हजार ९० मत खसेको थियो । ५ वर्षपछि आइतबार सम्पन्न निर्वाचनमा भने औषतमा कम मत खसेको छ । पछिल्ला निर्वाचनमा मतदाता किन उत्साहित छैनन् त ?
निर्वाचन कार्यालय सुनसरीको तथ्याङ्कअनुसार सुनसरी क्षत्र नं. १ मा कुल १ लाख ४१ हजार ८ सय ७८ मतदाता छन् । निर्वाचन कार्यालयको आँकडाअनुसार गत निर्वाचनभन्दा यसपटक १९ हजार १ सय ८७ मतदाता थपिएका छन् । तर, गत निर्वाचनको तुलनामा मतदाता बढे पनि मतदानमा उत्साह देखिएन । गत निर्वाचनभन्दा ७ दशमलव ८३ प्रतिशत कम मत खसेको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ । कुल १ लाख ४१ हजार ८ सय ७८ मतदातामध्ये ५५ दशमलव ६१ प्रतिशत अर्थात् ७८ हजार ८ सय ९३ मत मात्र खसेको छ ।
राजनीतिक विश्लेषक डा.अमृतकुमार श्रेष्ठ प्रत्येक निर्वाचनमा मतदान कम हुनु पहिलो कारण मतदाता उत्साहित नहुनु रहेको बताउँछन् । उनी भन्छन्, ‘बढी मतदान हुनका लागि मतदाता उत्साहित हुनुपर्छ ।’ उनी मतदान कम हुनुको दोस्रो कारण राजनीतिक दलप्रतिको वितृष्णा भएको बताउँछन् ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाभर कुल मतदाताको ६९ दशमलव ३४ प्रतिशत मत खसेको थियो । कुल ४ लाख ७४ हजार ८ सय ३१ मतदातामा ३ लाख २९ हजार २ सय ६२ मत खसेको थियो । यस निर्वाचनमा सुनसरीमा कुल ५ लाख ४४ हजार ९ सय ४१ मतदातामा ३ लाख ४६ हजार ६ सय मात्रै मत खसेको अर्थात् ६३ दशमलव ६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । गत निर्वाचनभन्दा ५ दशमलव ७४ प्रतिशतले कम मत खसेको हो ।
मुलुकभर नै पनि विगतका निर्वाचनभन्दा कम मत खसेको छ । निर्वाचन आयोगले प्रक्षेपण गरेजति पनि मत खसेन । आयोगले ६५ देखि ७० प्रतिशतथ मत खस्ने प्रक्षेपण गरेकोमा ६१ प्रतिशत मात्रै मत खसेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार दोस्रो संविधानसभाको निर्वाचन २०७० मा मुलुकभर ७८ दशमलव ३४ प्रतिशत मत खसेकोमा गत निर्वाचनमा भन्दा ९ दशमलव ६८ प्रतिशत कम अर्थात् ६८ दशमलव ६६ प्रतिशत मत खसेको थियो । यस निर्वाचनमा त्योभन्दा पनि ७ दशमलव ६६ प्रतिशत कम अर्थात् ६१ प्रतिशत मत मात्रै खसेको आयोगले जनाएको छ ।
स्थानीय निर्वाचनमा भन्दा पनि न्यून मतदान हुनुको कारणबारे राजनीतिक विश्लेषक डा.श्रेष्ठ भन्छन्, ‘राजनीतिक दलले राम्रो काम नगर्दा मतदाता निराश भए ।’ उनी संसदीय निर्वाचनमा निर्वाचन क्षेत्रबाहिर रहेका मतदाता मतदान गर्न नआएको बताउँछन् । उनी भन्छन्, ‘भर्खरै स्थानीय निर्वाचनमा बाहिरका मतदाता गएर मतदान गरे । अहिले कति मतदान गर्ने भनेर गएनन् । यो मतदाता उत्साहित नहुँदा भएको हो ।’
यस्तै साना दलले गरेको निर्वाचन बहिष्कारको प्रभावले पनि मतदान कम भएको उनको तर्क छ । उनी भौगोलिक विकटता, सुरक्षा चुनौतीलगायतले मतदान कम भएकोमा सहमत छैनन् । उनी भन्छन्, ‘कर्णाली सबैभन्दा विकट थियो तर, मतदान सबैभन्दा बढी हुन्थ्यो ।’ अहिले पहिलेको तुलना सुगमता थपिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेल पनि बाहिरका मतदाता मतदान गर्न नगएकाले कम मत खसेको बताउँछन् । उनी भन्छन्, ‘बसाइँ सराई, विवाह गरेर जान्छन्, मतदाता नामावली स्थानान्तरण गर्दैनन् । जसले मतदान गर्न पाउँदैनन् ।’
उनी २०४७ सालदेखिको विवरण सङ्कलन गरेकाले केही मतदाताको मृत्यु भएको तर, मतदाता नामावलीमा नाम नहटेकाले पनि बढी देखिएको बताउँछन् । स्थानीय निर्वाचनभन्दा ८ प्रतिशत कम मतदान भएकाले मतदातालाई मताधिकारका विषयमा जानकारी गराउन नसकेको भन्ने उनको बुझाइ छ ।