विराटनगर । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा प्रदेश १ मा नेपाल प्रहरी र म्यादी गरी ३१ हजार १ सय २२ जना प्रहरी परिचालन भएका छन् । निर्वाचनमा प्रहरी मात्र ११ हजार १ सय ५६ र म्यादी प्रहरी १९ हजार ९ सय ६६ जना परिचालन भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । नेपाल प्रहरी र म्यादीबाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन भएका छन् ।
प्रदेशमा निर्वाचनमा ४ सय ३८ वटा मतदान स्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरिएको छ । स्थानीय तहको निर्वाचनमा भन्दा सङ्घ र प्रदेशको निर्वाचनमा मतदानस्थल बढेसँगै संवेदनशील स्थलहरू पनि बढेको जिल्ला सुरक्षा निकायले विश्लेषण गरेको हो ।
जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरणअनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ९९ मतदान केन्द्र र १ हजार ८ सय ९७ मतदानस्थलमध्ये ४ सय ३८ मतदानस्थल अति संवेदनशील वर्गीकरण गरिएको एसपी राईले जानकारी दिए । प्रदेशमा ८ सय २४ मतदानस्थल संवेदनशील र ६ सय ३५ मतदानस्थल सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेशको सबैभन्दा बढी झापामा मतदानस्थल ‘अति संवेदनशील’ रहेको छ । झापापछि मोरङ र सुनसरीको मतदानस्थल सुरक्षा निकायले अति संवेदनशील विश्लेषण गरी त्यहीअनुसार सुरक्षा रणनीति अपनाएको छ । तराईका जिल्लाहरू भारतसँग सीमा जोडिएको स्थानीय तहहरूको मतदानस्थलहरू सुरक्षा निकायले अति संवेदनशीलमा राखेर सुरक्षा योजना अगाडि बढाएको हो । ७ सय ६६ मतदान केन्द्र र २ सय ८५ मतदानस्थल रहेको झापामा ९५ मतदानस्थल अति संवेदनशील सूचीमा राखेको छ । यस्तै १ सय ४४ संवेदनशील र ४६ सामान्य रहेको छ ।
झापापछि दोस्रोमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तह रहेको मोरङमा ५० वटा मतदानस्थल अति संवेदनशील रहेको छ । ८ सय ३९ वटा मतदान केन्द्र र ३ सय ६ वटा मतदानस्थल रहेको मोरङमा संवेदनशील १ सय ४४ र १ सय १२ वटा सामान्य रहेको छ । मोरङको अति संवेदनशील सूचीमा राखेको मतदानस्थलमध्ये विराटनगरको दक्षिणीभेगमा पर्ने ९ वटा मतदानस्थल अति संवेदनशीलमा सुरक्षा निकायले राखेको छ ।
रङ्गेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारी क्षेत्रको मतदानस्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ । ५ सय ९१ मतदान केन्द्र र १ सय ६६ मतदानस्थल रहेको सुनसरीमा ५९ अति संवेदनशील, ६५ संवेदनशील र ४२ सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै धनकुटा १६, उदयपुर २१, इलाम ३६, पाँचथर ३४, भोजपुर ३३, खोटाङ ४०, ओखलढुङ्गा १३, खोलुखुम्बु ११, सङ्खुवासभा ७ र ताप्लेजुङ २३ मतदानस्थल अति संवेदनशील रहेका छन् ।
धनकुटामा २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा धनकुटामा शान्ति सुरक्षाका लागि २ हजार ४ सय ९८ जना सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को तयारी सम्बन्धमा सञ्चारकर्मीहरूलाई जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । जिल्ला प्रशासन कार्यालय धनकुटाले बुधबार पत्रकार सम्मेलन गर्दै मङ्सिर ४ को निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि ४ तहको सुरक्षा घेरामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिएको हो ।
जिल्लाको १ सय ६४ मतदान केन्द्र र १ सय १९ मतदानस्थलमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न सोहीअनुसारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रजिअ कट्टेलले चार घेराको सुरक्षालाई व्यवस्थित ढङ्गले परिचालन गर्न नेपाल प्रहरीसँगै म्यादी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको टोली सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर परिचालन हुने बताए ।
हरेक मतदानस्थलमा बम डिस्पोजल टोलीसमेत तयारी अवस्थामा राखिने प्रजिअ कट्टेलले बताए । उनले भने, ‘कुनै मतदानस्थलमा बम विष्फोटनको घटना भएको खण्डमा ३० देखि ४५ मिनेटभित्रमा नेपाली सेना पुग्ने गरी व्यवस्था मिलाइएको छ ।’
निर्वाचनमा १ हजार, ३ सय ४ कर्मचारी परिचालन
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मङ्सिर ४ गतेको निर्वाचन सम्पन्न गर्न १ हजार ३ सय ४ कर्मचारी परिचालन गरिएको बताए । उनले निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी गरी १ हजार ३ सय ४ जना खटाइएको पत्रकार सम्म]लनमा जानकारी दिएका छन् ।
मतदानस्थलमा तस्बिर तथा भिडियो खिच्न पाउने
नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका उपाध्यक्ष एवम् फोनिजका केन्द्रीय सदस्य विदुर खवासले मतदान र मतगणनास्थलमा पत्रकारहरूले तस्बिर र भिडियो खिच्न पाउनुपर्ने माग राखे । पत्रकार रमेशचन्द्र अधिकारीले पत्रकारहरूलाई निर्वाचन अवधिमा आयोगले सूचना दिन सहज वातावरण सिर्जना गर्न माग गरे । सो बारे बोल्दै मुख्य निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले निर्देशिकामा मतदान र मतगणनास्थलमा क्यामेरा, मोबाइल लान नपाइने व्यवस्था भए पनि पत्रकारहरूलाई तस्बिर खिच्न दिने बताए । तर, उनले सर्वसाधारण मतदाता, राजनीतिक दलका कार्यकर्ता र नेतालाई पूर्णरूपमा प्रतिबन्ध लगाइनेछ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नागरिक समाजभित्रको सशक्त भूमिका निर्वाह गर्ने जगत् भनेकै पत्रकार भएकाले आफैले बुझेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । उनले निर्वाचनको दिन ११ किसिमको सवारी साधनबाहेक सबैखाले सवारी साधनमा पूर्णरूपमा सञ्चालनका लागि प्रतिबन्ध लगाइने बताए । उनले निर्वाचन सुरक्षा व्यवस्थाका लागि संवेदनशीलतालाई हेरेर पत्रकारहरूलाई गम्भीर भएर समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।