विजयपुर । मुलुकभर चुनावी सरगर्मी बढेसँगै नेपालका ठूला राजनीतिक दलका शीर्षनेताहरू आ–आफ्ना उम्मेदवारलाई जिताउन देश दौडाहामा छन् । नेताहरूले मतदाताका मत जित्नका लागि शीर्षनेता पुगेका प्रायः स्थानमा उम्मेदवारहरूलाई मन्त्री बनाउने आश्वासन दिँदै आएका छन् ।
बुधबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लोकतान्त्रिक बाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्न धरान आइपुगे । उनले धरानमा सम्बोधन गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) लाई मन्त्री बनाउने आश्वासन दिएका छन् ।
‘मुकेश केही गरौँ भन्ने नेता हो, मलाई थाहा छ । उहाँलाई अत्यधिक मतले विजयी गराएर पठाउनुहोस्’ उनले भने, ‘धरानको समस्या समाधान गर्नका लागि आउने ५ वर्ष होइन, सुरुमै मेरो कोशिस हुन्छ, उहाँलाई मन्त्री बनाएर तपाईंहरूको विकासमा मद्दत गर्नेछु ।’
गठबन्धनबाट नेपाली काङ्ग्रेसका उमेश थापा सुनसरी क्षेत्र नं. १ (१) बाट प्रदेशसभामा उम्मेदवार छन् । उनको विषयमा अध्यक्ष प्रचण्डले भने, ‘थापा लोकप्रिय, अनुभवी परिचित व्यक्तित्व हुनुहुन्छ । मैले उहाँलाई मन्त्री बनाउँछु भन्न मिलेन । उहाँ पनि मन्त्रीका लागि योग्य हुनुहुन्छ । म प्रकाशजी (प्रकाशशरण महत)लाई जाँदाजाँदै बाटामा भन्नेछु ।’
बुधबार चुनावी अभियानकै क्रममा अध्यक्ष प्रचण्ड भोजपुर पुगे । भोजपुरबाट प्रतिनिधिसभामा लोकतान्त्रिक बाम गठबन्धनबाट सुदन किराती उम्मेदवार छन् । अध्यक्ष प्रचण्डले किरातीलाई पनि मन्त्री बनाएर भोजपुरको विकास अघि बढाउन सहयोग गर्ने आश्वासन दिए । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न क्षेत्रमा पुगेर मन्त्री बनाई विकासमा सहयोग गर्ने बताउने गरेका छन् ।
‘धरानको समस्या बुझेको छु’
अध्यक्ष प्रचण्डले धरानका समस्याहरूका विषयमा जानकार भएको भन्दै गठबन्धनको सरकार बने समाधानका लागि विशेष पहल गर्ने बताए । उनले धरानको जोगबनी–किमाथाङ्का सडक पनि पूर्णता दिने बताउँदै भने, ‘यसले धरानको आर्थिक गतिविधिमा प्रभाव पार्छ ।’ उनले धरानको सुकुम्बासी समस्या समाधान गर्ने पनि बताए ।
उनले एमाले, जसपा र राप्रपाको गठबन्धन राजवादी, सामन्ती, निरङ्कुशतातिर फर्कन चाहने शक्तिको गठबन्धन भएको बताए । उनले अहिलेको गठबन्धन सरकार आर्थिक समृद्धि र विकासका लागि भएको बताए । उनले भने, ‘क्रान्ति र शान्ति गरियो, अब आर्थिक क्रान्ति गर्ने हो ।’ यो गठबन्धन ५ वर्ष मात्रै नभएर १०–१५ वर्ष जाने बताउँदै उनले गिरिजाप्रसाद कोइराला र आफूले एउटै कागजमा हस्ताक्षर गरेर शान्ति सम्झौता गरेदेखि नै गठबन्धनको सुरुवात भएको बताए ।
अध्यक्ष प्रचण्डले फरक सन्दर्भमा भूपू गोर्खा सैनिकहरूलाई समान कामको समान ज्यालाका लागि वार्ताबाट पहल गरिरहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीसँग गम्भीररूपमा छलफल भइरहेको छ । ब्रिटिस सरकारसँग पनि छिटो वार्ताका लागि पहल गर्छु ।’
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको बताए । उनले ओलीले आफ्नो पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसक्दा तीन ३ टुक्रा हुन पुगेको बताए । उनले गठबन्धन सरकार बनेपछि विदेश नीतिको अस्तव्यस्ततालाई समाधान गरेको दाबीसमेत गरे ।