देउराली । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले विचार, सङ्गठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले छलछाम गरेर धोका दिएर कसैले सिध्याउँन खोज्नु असम्भव रहेको बताए ।
जसपासँग तालमेल गरेको सुनसरी क्षेत्र नम्बर १ को संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमालेलाई सिद्ध्याउनै भनेर गठबन्धन गरिएका दलहरूमा देश बनाउने नीति मात्र नभएर सङ्गठन र विचार समेत नभएको बताएका छन् ।
उनले केही दशक अघि चरम गरिबी भोगेको चिनको सम्बृद्धिको यात्राहरूको स्मरण गर्दै विदेशी सहयोगबाट वा कसैको कन्फर्टेवल सरकार बनाए नेपाल सम्बृद्ध नहुने बताए । उनले भने " ठुलो जनसङ्ख्या ठुलो गरिबी, ठुलो भूगोलमा विकास आफ्नै बलबुताबाट भयो, विकासकालागि विज्ञान प्रविधिको प्रयोग भएको छ । हामी पनि हाम्रो देशको विकास गर्न सक्छौँ । "
कतार साउदी र युएइ जस्ता देशहरू नेपालीको श्रम र पसिनाबाट बनेको भन्दै उनले नेपाल जस्तो उर्वर र खनिज भएको देशको विकास गर्न पनि नेपाली स्रोत साधनबाटै सम्भव हुने बताए । त्यसका लागी शासकीय व्यवस्था सही हुनु पर्ने भन्दै एमाले बाहेक अन्य पार्टीहरूमा त्यसको कुनै भिजन नभएको बताएका छन् ।
उनले काँग्रेसले समाजवाद भन्ने गरे पनि त्यो कस्तो हुने भन्ने धारणा नभएको भन्दै एमालेले भन्ने गरेको समाजवाद 'परिपूर्ण लोकतन्त्र' रहेको बताएका छन् । काँग्रेसले समाजवाद भन्ने गरेकाे छ, समाजवाद कस्ताे हुन्छ, सिङ्ग भकाे हुन्छ की नभकाे हुन्छ की, जुराे भकाे हुन्छ की गैडाकाे जस्ताे खाग निक्लेकाे हुन्छ की, समाजवाद भनेकाे ?" उनले भने " हामीले स्पस्टताका साथ भन्ने गरेका छाैँ परिपूर्ण लाेकतन्त्र राजनीतिक लोकतन्त्र मात्र हैन, आर्थिक उन्नति र जनताको जीवन सुखमय बनाउने, जनताका कला संस्कृति, सामाजिक पक्ष, संस्कार र सभ्यताको रक्षा गर्नका लागी सुखी नेपाली समृद्ध नेपालको अवधारण लिएर अघि बढेका छौँ । "
उनले काँग्रेस माओवादीलगायतको गठबन्धनलाई हुँडारहरूको समूहको संज्ञा दिएका छन् ।
बाघ, सिंह, स्यालले पहिले सिकार मारेर मासु खाने गरेको भए पनि हुँडारले जिउँदै टोक्ने र खाने गरेको भन्दै एमाले विरुद्ध गठबन्धन पनि त्यसरी नै लागी परेको उनले बताए । "यो गठबन्धन नामक हुँडारले असंवैधानिक ढङ्गले गैर कानुनी ढङ्गले एमालेलाई चारतिरबाट टोकेर सिध्याउन खोजेको छ ।" उनले भने " एमालेको साङ्गठनिक शक्ति देखेर एमालेसँग एक्ला–एक्लै चुनाव लड्न नसकेपछि गठबन्धन गरेर एमाले एक्लियो भन्नेहरूलाई त्यसो होइन विदेशी देख्नासाथ पुच्छर नहल्लाउने पनि छन् भनेर अहिले तालमेल भएको हो । "
सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले दिँदा नखाने र राती कोल चाट्ने भन्दै पार्टीको निर्णय विपरीत गएर स्वतन्त्र उम्मेदवारी दिनेलाई पार्टीले कुनै पनि अवस्थामा समर्थन नगर्ने बताएका छन् । उनले भने "पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला । समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?"
उनले तालमेलबाट संयुक्त उम्मेदवार बनेका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूलाई जिताउनका लागी पर्न कार्यकर्ताहरूलाई निर्देश पनि दिएका छन् ।
धरानको खानेपानीको दीर्घकाल समाधानका लागी सप्तकोसीबाट, पम्प गरेर वा लेउती सुरुङ बनाएर ल्याउन सकिने भए पनि नगरको बजेटबाट त्यो सम्भव नहुने र केन्द्रीय बजेटका लागी एमालेको सरकार आए मात्रै सम्भव हुने बताए ।