जहदा, मोरङ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि  उम्मेदवारहरू घरदैलो गरिरहँदा मतदाता भने वर्षभरि खाने खेती थन्क्याउने चटारोमा छन् । बुधबार दिउँसो विराटनगरसँग सीमा जोडिएको मोरङको जहदा गाउँपालिका–१ भुटहामा स्थानीय कृषक पाकेको धान भिœयाउन व्यस्त थिए । कोही धान काट्दै थिए भने कोही काटेर राखेको धानलाई मुठा बानेर घर लैजाने तयारीमा थिए । यतिबेला उम्मेदवारको नमस्कार फर्काउनसमेत किसानलाई समय छैन ।

वर्षभरि खाने बाली भिœयाउन किसानलाई चटारो रहेको  जहदा–१ का वीरेन्द्र दासले बताए । ‘वर्षभरि खाने खेती थन्क्याउने यही बेला हो । नेताहरूको पछि लागेर हिँडेर यहाँ कसले गरिदिन्छ । चुनावपछि सबैको अवस्था थाहा भएकै हो । हामी मर्नै लागेर भेट्न गए पनि मुन्टो बटार्दै बाटो लाग्छन् ।’

खेतमा सिँचाइको माग गरेको पुस्तौं बित्दासमेत टेरपुच्छर नलगाएका नेताप्रति उनले निराशा प्रकट गरे । ‘बाह्रै महिना सिँचाइ सुविधा हुँदो हो त कति परिवारले तरकारी खेती लगाएरै आम्दानी गर्थे’ उनले भने, ‘पाँच वर्षमा एकपटक भोट माग्न आउँदा गर्दिनँ केही भन्दैनन् । चुनाव जितेपछि पारा उही हो । अब कसको विश्वास गरौं ?’ सिँचाइ अभावकै कारण कैयौं युवा विदेश पलायन भएको उनले सुनाए । खानीगाउँमा सिँचाइको सुविधा सहज भए कैयौं परिवारले तरकारी र नगदेबालीबाट लाखौं आम्दानी गर्न सक्ने उनले बताए ।

मल र बिउ दिनेलाई किसानको भोट
यतिबेला मतदाताको घरघरमा उम्मेदवार भोट माग्दै पुगेका छन् । मोरङ क्षेत्र नं. ५ का मतदाता भने समयमा मल, बिउ र उत्पादन भएको तरकारीको उचित मूल्यको ग्यारेन्टी गर्ने उम्मेदवारलाई नै भोट दिने बताउँछन् ।

मोरङको क्षेत्र नं. ५ भारतसँग सीमा जोडिएको क्षेत्रमा पर्दछ । यस क्षेत्रका जनताको मुख्य आम्दानीको स्रोत कृषि नै हो । तर, समयमा रासायनिक मल र बिउ नपाउँदा यहाँका किसान हैरान छन् ।

यहाँका मतदाताले नयाँ जोस र योजना भएका उम्मेदवार खोजिरहेको जहदा–१ कुडरीयाका महमद सफिर उद्दिनले बताए । ‘हामीले भाषणमात्र गर्ने होइन, स्पष्ट योजना र लगानीको वातावरण बनाउन सक्ने जनप्रतिनिधि खोजेका छौं’–उनले भने । उद्दिनको तीन बिघा खेती रहेको छ । धान बाली पाकेर भित्र्याएपछि अहिले उनले मकै लगाउने तयारी गरेका छन् । त्यसको लागि खेत जोतेर बाली लाउन ठिक्क बनाएका छन् । तर, अहिले रासायनिक मल नपाएर उद्दिन मात्र होइन, यहाँका कृषकहरू हैरानीमा छन् । अहिले भोट माग्न आउने उम्मेदवारहरूलाई उद्दिनले भन्ने गरेका छन्, ‘हामीलाई कृषिका लागि आवश्यक मल, बिउ र उचित बजारीकरण गर्न सक्ने जनप्रतिनिधिको खाँचो छ ।’

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल, जनता समाजवादीबाट राजकुमार यादव र स्वतन्त्रबाट योगेन्द्र मण्डल चुनावी मैदानमा छन् । प्रदेश सभातर्फ ५ (२) मा नेपाली काङ्ग्रेसबाट अमृत अर्याल र जनता समाजवादीबाट जयराम यादव उठेका छन् ।

मण्डल निवर्तमान सङ्घीय सांसद् हुन् । उनले २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । प्रदेशसभातर्फ उम्मेदवारी दिएका यादव प्रदेश १ का स्वास्थ्यमन्त्री हुन् । उनले प्रदेश सभामा २०७४ मा सोही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । प्रतिनिधि र प्रदेशसभातर्फ उठेका उम्मेदवारहरूले किसानको समस्या तथा अन्य नगदेबालीका लागि अनुदान, मल, बिउ र उचित बजारीकरणको आश्वासन दिइरहेका छन् ।

चुनावी अभियानको क्रममा भेटिएका मोरङ क्षेत्र नं. ५ (२) का जसपाबाट उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको बताए । कृषि उत्पादनको बजारीकरणदेखि आफ्नो निर्वाचन क्षेत्रका किसानको समस्या आफूले बुझेको र त्यसको समाधान गर्ने भन्दै मत माग्दै आएका छन् । यादवले यसअघि आफूले गरेको प्रतिबद्धता पुनः दोहो¥याउँदै यसपटक कार्यान्वयन गर्ने आश्वासन दिँदै मत मागिरहेका छन्  ।

अन्य दलका उम्मेदवार र स्वतन्त्रले पुराना जनप्रतिनिधि र मुख्य दलका नेताले सोचेअनुसार काम नगरेको भन्दै नयाँ अनुहारलाई काम गर्ने मौका दिन आग्रह गर्दै आएका छन् ।