प्रदेश नं १ का  वन, पर्यटन तथा भू–संरक्षणमन्त्री  एवं मोरङ क्षेत्र नं ३ ‘१’का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको उपचारका क्रममा आज विराटनगरमा निधन भएको छ । उनको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा  निधन भएको  नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले  गत असोज २३ गते निर्वाचनको मनोनयन दर्तापश्चात् स्वास्थ्यमा समस्या देखिएको थियो ।  थापाको स्वास्थ्यमा   निमोनिया र पायल्ससमेत देखिएपछि उपचारका काठमाडौँको ह्याम्स अस्पताल लगिएको थियो ।

उनलाई स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि विराटनगर ल्याइएको थियो ।  उनको श्वासप्रश्वासमा समस्या भएपछि पुनः सोमबार उपचारका लागि  नोबेल अस्पतालमा भर्ना गरिएको थियो । 

 थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।  थापाको पथरीशनिश्चरे–८ घाटमा आज दाहसंस्कार गर्ने पार्टी सचिव घिमिरेले जानकारी दिए । यसैवीच मोरङ क्षेत्र नं ३ ‘क’को निर्वाचन कार्यक्रम स्थगित नहुने प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । 

कांग्रेस मोरङले मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृतको कार्यालयलाई निधनका विषयमा जानकारी गराएपछि आयोगले अरू गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयन प्रक्रिया अघि बढाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताए ।