सुनसरी । सुनसरीको ३ नम्बर निर्वाचन क्षेत्रमा तेस्रो पटक भेट हुँदैछन्, राजनीतिक खेलाडी विजयकुमार गच्छदार र भगवती चौधरी । काङ्ग्रेस, मधेशी राजनीति हुँदै पुनः काङ्ग्रेसमा विलय भएका गच्छदार काङ्ग्रेसका हेभीवेट हुन् । यता आफ्नो क्षेत्रमा स्वरोजगारमुखी कार्यक्रम ल्याई लोकप्रिय रहेकी एमालेकी भगवती पनि हेभीवेटसँग पराजित हुने अर्को हेभीवेट हुन् । किनकि २०७० को दोस्रो संविधानसभा र २०७५ को प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ झिनो मतान्तरले पराजित भएकी भगवती ह्याट्रिक भिडन्तबाट विजय आफ्नो पोल्टामा पार्ने दाउमा छिन् । आसन्न निर्वाचनमा गच्छदारका लागि केही असजिला सङ्केतहरू देखिँदै छन् । एक त उनी ललिता निवास प्रकरणमा मुछिएका कारणले पनि उनको राजनीतिक विरासत यसपटक भत्किने अनुमान त्यहाँका मतदाताले गरेका छन् । २०७० मा तत्कालीन फोरम लोकतान्त्रिकबाट चुनाव लडेका गच्छदारले भगवतीलाई ३ सय ६२ मतान्तरले हराए ।
२०७४ मा काङ्ग्रेसबाटै उठेका उनले ३८ हजार ९ सय ६२ ल्याई विजयी बन्दा भगवतीले ३८ हजार ६ सय ५१ मत ल्याएकी थिइन् । यो चुनावमा भगवतीलाई जबर्जस्ती हराइएको आरोप पनि गच्छदारमा नलागेको होइन ।

तर, मतको तथ्य नै आरोप पुष्टि गर्ने आधार हो । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा पराजित भएपछि उनको लोकप्रियता खस्किएको धेरैले अनुमान गरेका थिए । लगत्तै ललिता निवासले त उनलाई धरौटी तिरेर छुट्न बाध्य नै बनायो । प्रजातन्त्रको पुनर्वहालीपछि निरन्तर सत्ता र शक्तिमा रहेका गच्छदार २०४८ सालमा सांसद् हुँदै सञ्चार राज्यमन्त्री भएका थिए भने हालसम्म उनले १२ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पाँचपटक उपप्रधानमन्त्री र पटक–पटक भौतिक योजना तथा निर्माण मन्त्री भएका छन् ।

उनी सुनसरीबाट २०४८, ०५१ र २०५६ को संसदीय चुनाव, २०६४ र ०७० सालको संविधानसभा र २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । काङ्ग्रेसबाट राजनीतिमा उदाएका गच्छदारले २०६४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरम र २०७० सालमा फोरम लोकतान्त्रिकबाट चुनाव जितेका थिए भने त्यसयता उनको पार्टीलाई काङ्ग्रेसमा विलय गराएका थिए । उनले यस पटक फेरि उम्मेदवारी दिएका छन् ।

गठबन्धन भएकाले फेरि पनि आफ्नो विजय हुने अनुमान गरिरहेका छन् । यता दुईपटकसम्म गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवतीले यसपटक बाजी मार्ने अनुमान गरिँदै छ । उनी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छिन् । सुनसरी क्षेत्र नम्बर ३ मा इटहरी उपमहानगरपालिकाका १० वटा वडा, दुहबी नगरपालिकाका १२ वटा वडा, इनरुवा नगरपालिकाको एउटा वडा, गढी गाउँपालिकाका ६ वटा वडा र बर्जु गाउँपालिका पर्दछ ।

यस्तो छ स्थानीय तहको नतिजा
हारजितको आँकलन गर्नुअघि स्थानीय तहमा नेपाली काङ्ग्रेस र एमालेका उम्मेदवारले ल्याएको मतलाई हेर्नुपर्ने हुन्छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले दुहबी नगरपालिकाको प्रमुख र उपप्रमुख जितेका छन् भने बर्जु र गढी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

यस्तै सुनसरी क्षेत्र नम्बर ३ अन्तर्गत १० वटा वडा पर्ने इटहरी उपमहानगरपालिकाको प्रमुखमा काङ्ग्रेसले जितेको छ भने उपप्रमुख नेकपा (एमाले) विजयी भएको छ । दुहबी नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका उम्मेदवारले ११ हजार ९ सय १६ मत ल्याएर निर्वाचित भएका थिए भने नेकपा (एमाले)का उम्मेदवारले ११ हजार ४ सय ६१ मत प्राप्त गरेका थिए । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले ५ सय १० मत प्राप्त गरेका थिए । बर्जु गाउँपालिकाको प्रमुखमा एमालेका उम्मेदवारले ७ हजार ८ सय ६१ मत ल्याएर निर्वाचित भएका थिए भने काङ्ग्रेसका उम्मेदवारले ७ हजार ४ सय ७४ मत प्राप्त गरी दोस्रो भएका थिए । यस्तै जनता समाजवादी पार्टीका उम्मेदवारले ७ सय २३ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले ४ सय ८ मत ल्याएका थिए ।

यसैगरी गढी गाउँपालिकाको प्रमुखमा एमालेका उम्मेदवारले ८ हजार ९ सय १ मत ल्याएर विजयी भएका थिए भने काङ्ग्रेसका उम्मेदवारले ५ हजार ३ सय ५० मत प्राप्त गरी दोस्रो भएका थिए । माओवादी केन्द्रका उम्मेदवारले ७ सय ७६ मत प्राप्त गर्दा जसपाका उम्मेदवारले ६ सय ९९ मत प्राप्त गरे । सुनसरी क्षेत्र नम्बर ३ मा २० वटा वडाहरूमध्ये १० वटा वडाहरू पर्ने इटहरी उपमहानगरको प्रमुखमा काङ्ग्रेसका उम्मेदवारले ३३ हजार ४९ मत ल्याएर निर्वाचित भएका थिए भने २८ हजार ३१ मत ल्याएर एमालेका उम्मेदवार दोस्रो भएका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ३ हजार ८ मत प्राप्त गर्दा जसपाका उम्मेदवारले २ सय ८० मत प्राप्त गरे । दुहबी नगरपालिकाका जम्मा १२ वटा वडाहरूमध्ये ८ वटामा काङ्ग्रेस र चारवटा वडामा एमाले विजयी भएका छन् । यस्तै जम्मा ६ वटा वडाहरू रहेको गढी गाउँपालिकामा पाँचवटा वडा एमाले र एउटा वडा काङ्ग्रेसले जितेको छ । त्यस्तै बर्जु गाउँपालिकाको ६ वटा वडाहरूमध्ये एमालेले पाँचवटा वडा र काङ्ग्रेसले एउटा वडा जितेको छ ।

इटहरी उपमहानगरपालिकाका १० वटा वडाहरूमध्ये ६ वटा वडा एमाले, तीनवटा वडा काङ्ग्रेस र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यसै निर्वाचनअन्तर्गत पर्ने इनरुवा नगरपालिकाको वडानम्बर ७ मा काङ्ग्रेसले जितेको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा ३० हजार ९ सय २३ पुरुष र ३० हजार ८ सय ८७ महिला गरी जम्मा ६१ हजार ८ सय १० मतदाता छन् भने प्रदेशसभा (ख) तर्फ ३३ हजार ५ सय ३७ पुरुष र ३० हजार ८५ महिला गरी ६३ हजार ६ सय २२ गरी क्षेत्र नम्बर ३ मा जम्मा १ लाख २५ हजार ४ सय ३२ मतदाता छन् ।