विजयपुर । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयले एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा ३ सय २२ जनाले सेवा लिएका छन् । मङ्गलबार सम्पन्न शिक्षालयद्वारा केराबारी–६ याङ्शिलामा आयोजित शिविरमा ३ सय २२ जनाले सेवा लिएका छन् ।
शिविरमा बालरोग, महिला तथा प्रसूति, हाडजोर्नी, नाक–कान–घाँटी, फिजिसियन, छाला तथा गुप्तरोग र दाँतसम्बन्धी सेवा दिइएको थियो । शिविरमा निःशुल्क औषधि पनि वितरण गरेको जनाइएको छ । शिविरमा क्याडेट छात्र÷छात्राहरूले स्वयम्सेवकको रूपमा कार्य गरेका थिए ।
क्याडेट छात्र/छात्राहरूको अभ्यास कार्यअन्तर्गत शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । शिविर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल केमिस्ट एण्ड ड्रग एसोसिएसन र नेपाल मेडिकल एसोसिएसन धरानको सहकार्यमा सञ्चालन गरिएको हो ।
शिविर फागुन ५ गतेदेखि सञ्चालित भएको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयले सञ्चालन गरेको एनसीसी (नेशनल क्याडेट क्रप्स) तालिमको दौरानमा गरेको हो । एनसीसी जुनियर तालिममा १० जिल्लाका १५ वटा विद्यालयका ५ सय ३५ जना छात्रछात्रा सहभागी छन् । तालिमको उद्देश्य युवाहरूलाई सैद्धान्तिक ज्ञान र चरित्रवान बनाउने रहेको छ ।
साथै राष्ट्रिय विपत्तिमा स्वयम्सेवकको रूपमा परिचालन गर्न दक्ष जनशक्ति उत्पादन गर्नु पनि रहेको छ । तालिम १ सय दिनको हुने गर्दछ । तर, कोभिड–१९ का कारणले हालको तालिम ५१ दिन मात्रै दिने जनाइएको छ ।