सुनसरी । धरानबाट ७७ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन व्यापक चलखेल भइरहेकोे पाइएको छ ।

ब्राउनसुगर कारोबारी भारतीय नागरिक सिंह जिल्ला अदालत सुनसरीको आदेशअनुसार अहिले पूर्पक्षका लागि थुनामा छन् । ब्राउनसुगर मुद्दामा सुनसरी जिल्ला अदालतको आदेश उच्चअदालत विराटनगरले समेत सदर गरिदिएपछि पुर्पक्षका लागि जेलमा रहेका सिंहलाई छुटाउन पुनः चलखेल भइरहेको पाइएको हो ।

लागूऔषध मुद्दामा जेलमा रहेका सिंहले सप्तरीबाट कीर्ते गरी नेपाली नागरिकतासमेत लिएका छन् । कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठो प्रमाण पेश गर्दै नेपाली नागरिकता लिएका सिंह भारतीय नागरिक भएको भारतीय प्रहरीले नै पुष्टि गरिसकेको छ । यद्यपि आर्थिक प्रलोभनसँगै राजनीतिक दबावकै कारण सिंहका सम्बन्धमा कीर्ते नागरिकता छानबिन अगाडि बढाएको पाइएको छैन ।

‘नेपाली नागरिकको हकमा र विदेशी नागरिकको हकमा छुट्टाछुट्टै कानूनी प्रावधानको व्यवस्था छ’ स्रोतले भन्यो, ‘यदि लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिंह भारतीय वा विदेशी भएको पुष्टि भएमा उनलाई छुटाउन गाह्रो हुने भएकोले उनी भारतीय भएको आवश्यक प्रमाण हुँदासमेत उनको नागरिकता सम्बन्धमा छानबिन गरिएको छैन ।’

पक्राउ परेका सिंह लागूऔषध गिरोहका सदस्य भएकाले उनी दोषी साबित भएको अवस्थामा अन्य गिरोहका बारेमा समेत खुल्ने डरले छुटाउन ठूलो आर्थिक चलखेलका साथै राजनीतिक दबावसमेत उत्तिकै रहेको स्रोतको दाबी छ । सिंहलाई कीर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाउने भन्दै सप्तरी प्रहरीको पत्राचारअनुसार सुनसरी जिल्ला अदालतले झुम्का कारागारलाई पत्राचार गर्दै बयानका लागि सप्तरी पठाउन भनिए पनि राजनीतिक दबावका कारण उनको बयान हुन सकेको छैन ।

दोहोरो मुद्दा चल्ने भएपछि छुटाउन गाह्रो हुने भन्दै दोहोरो नागरिकताको मुद्दा तत्काल नचलाउन सप्तरी प्रहरीमाथि दबाव दिएको स्रोतको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको चलानी नम्बर १०११०, मिति २०७८ असार १३ गते थुनामा रहेका सिंहलाई नागरिकतासम्बन्धी कसुर बयान कार्यका लागि जिल्ला सरकारी वकिल कार्यालयले सप्तरी पठाई पुनः झुम्का कारागार फिर्ता ल्याउन सुनसरी जिल्ला अदालतले झुम्का कारागार कार्यालयको नाममा पत्र काटेको थियो ।

ठूलो परिमाणमा लागूऔषधसहित रङ्गेहात पक्राउ परेका सिंहको यथेष्ट प्रमाणका बावजुद महिनौंसम्म नागरिकता सम्बन्धमा छानबिन अघि नबढ्दा स्रोतको दाबीमा बल पुगेको देखिन्छ । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिंहको सम्बन्धमा पुस १२ गते सोमबार जिल्ला अदालत सुनसरीले पेशी तोकेको छ । सम्भवतः सोमबार नै जिल्ला अदालत सुनसरीले उनको सम्बन्धमा फैसला सुनाउनेछ ।