विराटनगर । ‘यो अस्पतालमा जानुभयो भने सस्तोमा धेरै राम्रो उपचार हुन्छ । यहाँको यो क्लिनिक पनि धेरै राम्रो छ । चिकित्सक पनि अनुभवी छन् । हिँड्नुहोस् राम्रो उपचार गर्ने अस्पताल र क्लिनिकमा लगिदिन्छु । उपचार पनि छिट्टै हुन्छ । घर पनि चाँडै फर्किन पाउनुहुन्छ ।’ यस्ता भाषा प्रयोग गर्दै बिरामी तथा बिरामीका आफन्तलाई फस्ल्याङ–फुस्लुङ पार्ने बिचौलियाको विराटनगरमा अधिपत्य रहेको छ ।
प्रदेश १ को राजधानी विराटनगरको शनिमन्दिर चोक, रङ्गेली जाने बसपार्क हाटखोला, कञ्चनबारी चोकमा यस्ता बिचौलिया प्रशस्तै भेटिने गरेका छन् । तराईका ग्रामीणभेग तथा पहाडबाट उपचारका लागि झरेका सर्वसाधारणलाई भुलभुलैयामा पारेर कमिसनको लोभमा अघोषित फार्मेसीका कर्मचारीको बिगबिगी रहेको छ ।
यसरी भुलभुलैयामा पारेर उपचार गर्न आएका बिरामीलाई अस्पताल र क्लिनिक पु¥याएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–८ का २० वर्षीय सागर राई, खोटाङ जन्तेढुङ्गा गाउँपालिकाका २४ वर्षीय विशाल राई र विराटनगर– ५ का १९ वर्षीय मोहम्मद सेराजलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उपचारका लागि आएका बिरामीलाई आफू निकटको अस्पताल, क्लिनिकमा लगी बिरामी तथा उनका आफन्तलाई दुःख दिएको आरोपमा पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । प्रहरीले यसअघि विराटनगरबाटै एक दर्जनभन्दा बढी बिचौलियालाई पक्राउ गरिसकेको छ ।
विराटनगरको हस्पिटल चोक, गोल्डेन अस्पतालअगाडि, नोबेलअगाडि, विराट नर्सिङ होम र न्यूरो चोकमा सबैभन्दा बढी बिचौलिया बस्ने गरेका छन् । हस्पिटल चोकमा च्याउसरी खुलेका निजी क्लिनिकहरूले ३ देखि ५ जनासम्म दैनिक बिचौलिया खटाउने गरेका छन् । बिचौलियाको प्रमुख उद्देश्य बिरामीलाई राम्रो र गुणस्तरीय उपचारभन्दा पनि कमिसनको चक्करका कारण लुट्ने प्रवृत्तिले यस्ता कार्य हुने गरेको प्रहरी बताउँछ ।
विराटनगरभित्र ठूला अस्पतालबाहिरका केही फार्मेसी सञ्चालकहरूले कमिसन दिएरै बिचौलिया राख्ने गरेको यसअघि नै पुष्टि भइसकेको छ । बिचौलिया राखेका फार्मेसीले बिरामीलाई भ्रमित पारेर आफू अनुकूलको निजी अस्पताल, क्लिनिक र आफ्नै औषधि पसलमा ल्याउन उनीहरूलाई जिम्मा दिन्छन् ।
१ नं.प्रदेश प्रहरी कार्यालय र मोरङ प्रहरी कार्यालयले एक सातामा विराटनगरभित्र रहेका ठूला अस्पतालबाहिर स्ट्रिङ अप्रेसन गरेर १७ जना स्वास्थ्य क्षेत्रका बिचौलियालाई पक्राउ गरेको छ । प्रहरीले यसअघि नोबेल मेडिकल कलेजबाहिर ७ जना, कोसी अस्पताल अगाडिबाट तीन जना, केही दिनअगाडि न्यूरो अस्पतालअगाडिबाट २ जना र विराट नर्सिङ होम अगाडिबाट पाँच गरी १७ जना बिचौलियालाई पक्राउ गरिसकेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरू सबै फार्मेसीका कामदारहरू हुन् । विराट नर्सिङअगाडिको फार्मेसीदेखि प्रहरीले सुनसरी इनरुवा विनोद मेहता, विराटनगरका रोहित साह, विवेक साह, सुनिल ठाकुर र सप्तरीका सारांशकुमार चौधरीलाई पक्राउ गरेको छ ।
प्रहरीले यसअघि पनि अस्पतालअगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रद्युम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका राय र साह बिराटनगरस्थित न्यूरो हस्पिटलअगाडिको ज्ञानु फार्मेसीमा काम गर्दैै आएका थिए । उनीहरूले ठूला अस्पताल आएका बिरामीलाई विभिन्न प्रलोभन देखाएर आफू अनुकूलको अस्पताल लैजाने गरेको प्रहरीले जनाएको छ ।
एकजना बिरामी बराबर २० हजारसम्म कमिसन !
पक्राउ परेका बिचौलियाले विभिन्न अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल र क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधि किन्न पनि बाध्य गराउने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
‘विराटनगरको विभिन्न अस्पतालअगाडि बसेका बिचौलियाले बिरामी र सर्वसाधारण नागरिकलाई दुःख दिएर हैरानी दिने गरेको उजुरी आएपछि हामीले पक्राउ गरेका हौं’–मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने ।
पछिल्लो समय सरकारी अस्पताल कोसी र मेडिकल कलेजमा बिरामी धेरै आउने भएकोले बिचौलियाहरू अस्पतालको गेटअगाडि बस्ने गर्दछन् । गेटअगाडि र भित्र पसेर बिचौलियाले विभिन्न अफवाह फैलाएर बिरामीलाई कमिसन आउने निजी अस्पताल र क्लिनिकमा लैजाने गरेका छन् ।
बिचौलियाले सम्पर्कमा आएका बिरामी उनले सम्पर्क गरेको अस्पताल र क्लिनिकमा पु¥याउँदा निश्चित रकम तोकिदिएको हुन्छ । स्रोतले दिएको जानकारीअनुसार एक जना बिरामीलाई सम्पर्कमा रहेको क्लिनिक र अस्पताल पु¥याउँदा बिचौलियाले हजार रुपैयाँसम्म लिने गर्दछन् । जति बढी बिरामीले औषधि खरिद र ल्यावमा परीक्षण गरे ।
त्यहीअनुसार बिरामीबाट असुल भएको रकम हेरेर पनि बिचौलियालाई पैसा दिने गरेको स्वास्थ्य क्षेत्रमै काम गरिरहेका एक जनाले नाम नबताउने सर्तमा बताए । ‘बिचौलियाले हस्पिटल चोक र रङ्गेली लाइनमा रहेका निजी क्लिनिकहरूसँग कतिसम्म सम्झौता गरेका हुन्छन् भने एक जना बिरामीबाट २० हजारभन्दा बढीको बिल भयो भने निश्चित रकम लिनुपर्ने शर्त राखेका हुन्छन्’ उनले भने, ‘बिरामीको २० हजारको बिल भयो भने बिचौलियालाई ३ देखि ५ हजार रुपैयाँसम्म दिनुपर्दछ ।’
यस्तै बिचौलियाले सम्पर्कमा गरेको निजी अस्पतालको भेन्टिलेर र आइसियुमा बिरामी भर्ना भए पनि अस्पतालले निश्चित रकम छुट्याइदिने गरेको छ । बिरामी आइसियु र भन्टिलेरमा भर्ना भए बिचौलियालाई २० हजार रुपैयाँसम्म दिने गरेको स्वास्थ्य क्षेत्रका एक जानकारले बताए ।
‘बिचौलियाले ल्याएको एक जना बिरामी निजी हस्पिटलको आइसियुमा र भेन्टिलेटरमा भर्ना भए । त्यो बिरामीले लाखभन्दा बढी रकम अस्पताललाई बुझाउनुपर्ने हुन्छ । त्यही भएर पनि अस्पतालले बिचौलियालाई खुसी पार्न निश्चित रकम छुट्याइदिएको हुन्छ’–अस्पताल स्रोतले भन्यो ।