विजयपुर/ प्रहरीले एकै दिन ७ फरार प्रतिवादी पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार प्रतिवादी पक्राउ गरेको हो ।

जिल्ला अदालत उदयपुरले विभिन्न समयमा कैद र जरिवाना गरी असुल उपर गर्नुपर्ने फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा त्रियुगा–२ खैजनपुरका ३० वर्षीय दिलिप चौधरी, ३३ वर्षीय राजिन चौधरी, ३३ वर्षीय  बिरेन चौधरी, ३५ वर्षीया रीता चौधरी, ३२ वर्षीया पबित्रा चौधरी र ३४ वर्षीया दुर्गा चौधरी रहेका छन् ।

उनीहरुलाई प्रतिव्यक्ति १ लाख ३६ हजार ६ सय ६७ रुपैयाका दरले जरिवाना गरिएको छ । साथै ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पनि एक फरार प्रतिवादी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलका–७ मैनामैनीका १८ वर्षीय अशोक राई रहेका छन् । उनलाई चैतमा जिल्ला अदालत उदयपुरले लागु औषध मुद्दामा १० महिना १५ दिन कैद गरेको थियो । फैसला भएपछि राई फरार रहेका थिए । उनलाई घरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुलाई जिल्ला अदालत उदयपुरमा बुझाएको प्रहरीले जनाएको छ ।