बिर्तामोड । झापाको बिर्तामोडमा अर्काको नाममा ट्रायल दिँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दमक नगरपालिका–९ का ३७ बर्षीय हरी श्रेष्ठ भनिने हरिबहादुर प्रधानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार श्रेष्ठले उनका सहोदर भाई सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिएका थिए । मोटरसाइकलको लाइसेन्स बनाउनका लागि प्रयोगात्मक परीक्षा दिनेबेलामा भाईको स्थानमा दाजु सहभागि भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ बर्षीय भाई सुजितको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रधानलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुरमा म्याद थप गरी अनुसंधान शुरु गरिएको प्रहरीले जनाएको छ ।