भद्रपुर । भद्रपुर ६ का ६२ वर्षीय पवित्र मण्डल प्रोस्टेड क्यान्सरबाट पीडित भएपछि उपचार गर्न खर्च अभावले समस्यामा परेका छन् ।

आर्थिक अवस्था अति दयनीय भएका मण्डललाई पूर्वाञ्चल क्यान्सर अस्पतालले प्रोस्टेड क्यान्सर भएको पुष्टि गरेपछि थप उपचारमा लाग्ने खर्च अभावले उनी छट्पटिन बाध्य भएका हुन् ।

ज्यालादारी गरेर बृद्ध बाबुआमासहित परिवारको दायित्व बहन गरिरहेका मण्डल आफै क्यान्सरको रोगी भएपछि परिवार चलाउन समेत कठिन भएको पीडितले दुखेसो पोखेका छन् । मण्डल बचाउ अभियानमा लागेका भद्रपुर ६ का राजा मण्डलका अनुसार पवित्रको प्रोस्टेड क्यान्सर दोश्रो चरणमा प्रवेश गरेकाले किमोथेरापीको माध्यमबाट उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

जसका लागि लाखौं खर्च हुने भएपछि पवित्र अस्पतालमा रकम अभावले जान सकिरहेका छैनन् ।