विराटनगर । नेपालमा दर्ता नभएका औषधि भारतबाट ल्याएर बिक्री गर्दा दोब्बर बढी मुनाफा हुने भएपछि औषधि क्षेत्रका माफियाहरू अनेक जुक्ति लगाएर त्यस्ता औषधि विराटनगरमा भित्र्याउन सक्रिय भएको पाइएको छ ।
कमाउ धन्दामा लागेको गिरोहले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि भारतबाट नेपालमा ल्याएर बिक्री वितरण गर्ने गरेको भेटिएको हो । औषधिका माफियाले भन्सारका कर्मचारीहरूलाई समेत झुक्याएर सर्जिकल सामान भन्दै दर्ता नभएका औषधिहरू नेपाल भिœयाउने गरेको घटना बाहिर आएको छ ।
विराटनगर–१३ मा सत्यन्त्रकुमार सिंहले सञ्चालन गरेको कान्तिपुर सर्जिकलबाट ठूलो परिमाणमा औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि फेला परेपछि यस्तो रहस्य बाहिर आएको छ । औषधि व्यवस्था विभाग विराटनगरले अनुगमनको क्रममा कान्तिपुर सर्जिकलबाट तीन कार्टुन विभागमा दर्ता नभएका औषधि बरामद गरेको छ ।
विभागले भिसकोलन (एचपिएमसी), हाइलुरोन (सोडियम हाइलुरोनेट अफ थालमिक सोलुसन) र स्टेराएल अप थालमिक इरिगेटिङ सोलुसन (कण्टासोल) नामक औषधि कान्तिपुर सर्जिकलबाट बरामद गरेको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए । ‘बरामद गरेको औषधि भारतीय कम्पनीको हो ।
यो औषधि अहिलेसम्म औषधि व्यवस्था विभागमा दर्ता भएको छैन । अहिले सर्जिकल सामान भन्दै यो औषधि भन्सार काटेर पनि ल्याउने गरेको पाइएको छ’ उनले भने, ‘विभागमा दर्ता नभएको औषधि यसरी ल्याउन मिल्दैन ।’ कतिपय बरामद भएका औषधि चोरी, तस्करी भएर अवैधरूपमा पनि नेपाल भिœयाउने गरेको पाइएको छ । बरामद गरेको औषधि आँखामा र अति आश्वयक इन्जेक्सन हो ।
आँखामा प्रयोग हुने औषधि संवेदनशील हुन्छ । त्यही भएर यसको गुणस्तर मापन गरिन्छ । गुणस्तरहीन औषधि आँखामा प्रयोग गर्दा आँखाको ज्योतिसमेत गुम्न सक्ने खतरा हुन्छ’ औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले भने, ‘त्यही भएर पनि आँखामा प्रयोग हुने औषधि गुणस्तरीय हुनुपर्दछ । विभागमा दर्ता भएको औषधि प्रयोगमा ल्याउनुपर्दछ ।’ आँखाको औषधि ल्याउँदा विभागमा दर्ता भए नभएको हेरेर मात्र खरिद बिक्री र बिरामीलाई बिक्री वितरण गर्न पनि विभागले फार्मेसीहरूलाई आग्रह गरेको छ । विभागले बरामद गरेको औषधि महँगो हो । उक्त औषधि नेपालमा ल्याएर दोब्बर बढी मूल्यमा बिक्री वितरण गर्ने गरेका छन् ।
दर्ता नभएको औषधि बिक्री वितरण गरेको अनुगमनको क्रममा भेटिएपछि विभागले कान्तिपुर सर्जिकल सिलबन्दी गरेको छ । ‘कैफियत भेटेपछि अर्को निर्णय नभएसम्मको लागि कान्तिपुर सर्जिकल सिलबन्दी गरिएको छ’ कट्टेलले भने, ‘सञ्चालकलाई विभागमा उपस्थित हुन पत्राचार गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।’ दर्ता नभएको औषधि बिक्री वितरण गर्ने पसललाई विभागले सिलबन्दी गरी औषधि ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने गरेको छ ।
केही दिनअगाडि पनि बिरामीले सेवन गर्ने औषधि दर्ता विना विराटनगरको एक चस्मा पसलले बिक्री वितरण गरेको भेटिएपछि विभागले कारबाही गरेको छ । विराटनगर आँखा अस्पतालअगाडि विराटनगर–१३ मा रहेको गुगल चस्मा घरका सञ्चालक विकास साहले अनुमति लिएको भन्दा बाहिर गएर औषधि बिक्री वितरण गरेको भेटिएपछि औषधि व्यवस्था विभाग विराटनगरले पसल सिलबन्दी गरेको थियो ।
चस्मा घरले अनुमति विना बिक्री वितरणमा राखेको औषधि पनि विभागले बरामद गरेको थियो । विभागबाट स्वीकृति नलिई मनलाग्दी तरिकाले पसल सञ्चालन गरेर औषधिको बिक्री वितरण गर्नेलाई औषधि ऐन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने गरेको छ ।
यसअघि औषधि पसल खोले पनि विभागबाट स्वीकृति नलिई तराई र पहाडी जिल्लाका फार्मेसीहरूले औषधि बिक्री वितरण गर्ने गरेका थिए । तर, पछिल्लो समय चस्मा पसलहरूले पनि खुलेआम औषधि बिक्री वितरण गर्न थालेपछि अनुगुमनलाई तीव्रता दिएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिना (असोज) सम्ममा दर्ता नभएका १८ वटा फार्मेसीलाई औषधि व्यवस्था विभाग विराटनगरले कारबाही गरेको छ ।
अनुगमनका क्रममा दर्ता विना फार्मेसी सञ्चालन गरेको पाइएपछि साउनदेखि असोजसम्म सो सङ्ख्यामा कारबाही गरिएको हो । अनुगमनको क्रममा व्यवसायी अनुपस्थित भएका ४३ फार्मेसीलाई कारबाही गरिएको छ । त्यस्तै विभागमा दर्ता नभएका औषधि बिक्री वितरण गर्ने ६ फार्मेसीलाई पनि कारबाहीको दायरामा ल्याएको विभागले जनाएको छ ।