धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई कारबाही गर्न बनेको छानबिन समितिले काम थालेको छ । 

स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको समिति प्रतिष्ठान आएर काम सुरु गरेको हो । अहिले प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग छलफल गरिरहेको छ । छलफल पछि पदाधिकारीलाई कारबाही किन नगर्ने भन्ने विषयमा चारैजना पदाधिकारीलाई स्पष्टीकरण सोध्ने जनाइएको छ । 

मन्त्री खतिवडाको संयोजकत्वमा बनेको समितिमा मन्त्रालयका प्रवक्तासमेत रहेका सिनेट सदस्य डा. रोशन पोखरेल, अर्का सिनेट सदस्य एवम् धरानका प्रमुख तिलक राई सदस्य छन् । 

अघिल्लो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा बनेको उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनमा प्रतिष्ठानभित्र चरम बेथिति, भ्रष्टाचार भएको उल्लेख गरेको थियो । उक्त प्रतिवेदनमा शैक्षिक, प्रशासनिक, स्वास्थ्योपचार, मेडिकल सामग्री खरिदलगायतमा चरम भ्रष्टाचार भएको तथ्य सार्वजनिक गरेको थियो । उक्त समितिको प्रतिवेदन साउन १८ गते सार्वजनिक गरिएको थियो भने सोही प्रतिवेदनलाई आधार मान्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौंले साउन २७ गते छापा मारी कागजात जफत गरेको थियो ।

उक्त प्रतिवेदनमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले दुरुपयोग गरेको प्राध्यापक पदका विषयमा पनि स्पष्टीकरण सोधिएको थियो । प्रतिवेदन सार्वजनिक गरेकै दिन साउन १८ गते स्वास्थ्य मन्त्रालयका सचिव कृष्ण पौडेलको नेतृत्वमा तीन सदस्यीय समितिले आन्दोलनरत पक्षसँग ६ बुँदे सहमति गरेको थियो । प्रतिष्ठानमा असार २ गतेबाट चिकित्सक, नर्स र कर्मचारी सम्मिलित संयुक्त संघर्ष समिति गठन गर्दै आन्दोलन सुरु गरेको थियो । 

उक्त समितिले प्रतिष्ठानमा भएको बेथिति, भ्रष्टाचारलगायतको शुद्धीकरणको माग राख्दै आन्दोलन सुरु गरेको थियो । उक्त आन्दोलनकै कारण चार पदाधिकारीमध्ये रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले भदौ १२ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका थिए । तर उनको राजीनामा ढिला गरी मात्रै मन्त्रालयमा पुगेको जानकारी गराइएको थियो । तर अन्य तीनजना पदाधिकारीले भने हालसम्म राजीनामा दिएका छैनन् ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहलाई मार्ग प्रसस्त गर्नका लागि तत्कालीन समयमा स्वास्थ्य राज्यमन्त्री बनेका उमेश श्रेष्ठले आग्रह गरेका थिए । तर उनको आग्रहलाई तीनजना पदाधिकारीले अवज्ञा गर्दै आएका छन् भने अख्तियारले चारैजना पदाधिकारीलाई बोलाइ बयान लिइसकेको छ ।