सुनसरीको कोशी गाउँपालिका ७ स्थित सीमावर्ती क्षेत्र नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकको सकुशल अपहरणमा परेको १० घण्टापछि सकुशल उद्धार गरिएको छ ।
अपहरणमा परेका स्थानिय दिपेन सदालाई भारती प्रहरीको सहयोगमा गयराती १ बजेर ५० मिनेटमा भारतको सुपौल जिल्ला, ग्राम पंञ्चायत बलबदैपुर ६ बैरयाकमालबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार बालकका अपहरणमा नेपालबाट भारततर्फ नेपाली मजदुर लैजाने ठेकेदार भारतीय नागरिक मुकुम मियाको संलग्नता रहेको बुझिएको छ ।
मुकुम मियाले केही समय अघि पन्ध्र बिस जना नेपाली कामदार उपलब्ध गराइदिने सर्तमा कोशी गाउँपालिका ७ का भुल्टन सदा लगायत ५ जनालाई अग्रिम २ लाख दिएको र रकम दिइसकेपछि भुल्टन सम्पर्क विहीन भएपछि उनकै गाउँका दिपेनलाई अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
पैसा लिएर कामदार नपठाई सम्पर्क विहीन भएपछि मकुम मियाको समूह २ वटा मोटरसाइकलमा आई भुल्टनको गाउँबाट बालकलाई अपहरण गरी करिब ३५ किलोमिटर दक्षिण पूर्व भारतको बैरयाकमाला स्थित आफ्नै घरमा बन्धक बनाएर राखेको अवस्थाबाट उद्धार गरी बालकलाई अभिभावको जिम्मा लगाइएको कार्यालयले जनाएको छ ।
घटनामा संलग्नलाई अपहरण तथा शरीर बन्धक शीर्षकमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।