विराटनगर । विराटनगर भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेण्टको मिलेमतोमा भन्सारबाट न्यून मूल्याङ्कन कायम गरी सामान भित्र्याउने  दुईवटा फर्म कारबाहीमा परेका छन् ।

भन्सार कार्यालयदेखि निस्किएको सामानमा न्यून मूल्याङ्कन र भेहिकल एण्ड कन्साइन्मेण्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) पनि नगरेको भेटिएपछि विराटनगरको शिवम् पाटर्स र मारुती हार्डवेयरलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले कारबाही गरेको हो ।

भीसीटीएस नगरी सामान आयात गर्ने फर्मलाई ३ लाख र न्यून मूल्याङ्कन गरी भन्सार छली गरेको कसुरमा ३ लाख १८ हजार रुपैयाँ जरिबाना गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काले जानकारी दिए । जसमध्ये न्यून मूल्याङ्कन कायम गरी सामान आयात गर्ने मारुती हार्डवेयरलाई १ लाख ८० हजार र शिवम् मोटर्स पार्ट्सलाई १ लाख ३८ हजार रुपैयाँ जरिबाना गरिएको उनले बताए ।

यही असोज १३ गते साँझ भीसीटीएसमा गाडी नम्बर उल्लेख नगरी भन्सार जाँचपास गरेर यार्डबाट निस्किएको ३४ लाख मूल्यको कपडा, मोटर्स पाटर््स र हार्डवेयरका सामान लोड गरिएको बीआर ३८ डी ३२४३ नम्बरको ट्रयाक्टरलाई सशस्त्र प्रहरीको रानी सीमा आउट पोष्ट (बिओपी) ले नियन्त्रणमा लिएको थियो ।

त्यसबेला ट्रयाक्टर चालक पङ्कज यादव पनि पक्राउ परेका थिए । एक साताभन्दा बढी लगाएर राजस्वले गरेको अनुसन्धानपछि भन्सार एजेण्ट गुलाफ साह र उनका प्रतिनिधि मन्टु साहले भीसीटीएस र आयात गरेको सामानको न्यून मूल्याङ्कन गरेर ल्याएको खुलेको हो ।

भन्सार एजेण्ट साहले भन्सारका कर्मचारीलाई सेटिङ गरेर न्यून मूल्याङ्कन कायम गरी राजस्व छली गर्न माहिर रहेका छन् । भन्सारमा आएको मालवस्तुको जाँचपास र मूल्याङ्कन भन्सार अधिकृतले गर्दछन् । विराटनगर भन्सारमा आठ जना भन्सार अधिकृत रहेका छन् । राजस्वले कारबाही गरेको पत्र पनि विराटनगर भन्सार कार्यालयलाई पठाएको खड्काले जानकारी दिए ।

तीन साताअघि पनि भन्सार परिसरबाटै अवैध रूपमा सामान भित्र्याउने भन्सार एजेण्ट कृष्ण थापा र सामान आयात गर्ने फर्म पूर्णकृष्ण ट्रेडर्सलाई ५५ लाख रुपैयाँ धरौटी लिएर भन्सारले दुई महिनाका लागि निलम्बन गरेको थियो । यसरी भीसीटीएस नम्बर उल्लेख नगरी लाखौं मूल्यको सामान आयात गर्दा कम मूल्याङ्कन गरिने र भन्सार कर्मचारीसँग मिलेर राजस्व छली हुने गरेको राजस्व अनुसन्धानका अधिकारीहरूको भनाइ छ ।

भीसीटीएस प्रणालीअन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्मले सामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ । यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ । ढुवानीको सुरुको बिन्दु र अन्तिम बिन्दुसम्म विभागले ट्रयाकिङ गरिरहेको हुन्छ ।

राजस्व चुहावटको सम्भावना कम गरेर राजस्व प्रशासनमा सुधार ल्याउने उद्देश्ले २०७६ साल साउन १ देखि अनिवार्य रूपमा भीसीटीएस लागू गरिएको थियो । सामान पुग्नुभन्दा अगाडि अनगोइङ र पुगेपछि डेलिभरीको सूचना अनलाइनमै प्राप्त हुन्छ ।

यसअघि साउन पहिलो साता पनि विराटनगर भन्सार कार्यालयका कर्मचारी र एजेण्टको मिलेमतोमा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले कपडा र विभिन्न सामान बोकेका दुई ट्रयाक्टर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १८ लाख राजस्व ठगी भएको पुष्टि भएको थियो ।

राजस्व छली गरेको आशङ्कामा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काको नेतृत्वमा आएको टोलीले विराटनगरदेखि विभिन्न सामग्री बोकेका को.२ त ६८११ र बीआर५०जी ५०५३ नम्बरका ट्रयाक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक चरणको अनुसन्धानदेखि भन्सार एजेण्ट प्रतिनिधि अकबर अलीले आयात गरेको दुई ट्रयाक्टर सामानमा १४ लाख मूल्य बराबर कम मूल्याङ्कन र ४ लाख रुपैयाँ मूल्य बराबरको सामान भन्सार नै नतिरी ल्याएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।

यसअघि अलीका एजेण्ट राजकुमार रौनियारले गत वैशाखमा एउटै प्रज्ञापन पत्रमार्फत् दुई पटक १८–१८ लाख मूल्यका कपडा भारतबाट आयात गरेर भन्सार महसुल नतिरी भारतीय नम्बर प्लेट बीआर ३८ जीए २६०६ को पिकअप भ्यानमार्फत् भन्सार परिसरबाट बाहिर निकाल्दा प्रहरीले पक्राउ गरेको थियो ।

उक्त दुई ट्रयाक्टर लत्ताकपडा भन्सार महसुल नतिरी बाहिर निकाल्न कर्मचारीले सहयोग गरेको स्रोतको दाबी छ । यता विराटनगर भन्सार प्रमुख शिवप्रसाद भण्डारीलाई सो बारेबुझ्न सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।