विराटनगर । चर्चित साढे ३३ किलो सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई मोरङ अदालतले जन्मकैदको फैसला गरेको छ । यो मुद्दामा ७७ जनालाई प्रतिवादी बनाएकोमध्ये ५६ जनाको हकमा मात्र मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलासले मङ्गलबार फैसला गरेको हो ।

५६ जना प्रतिवादीमध्ये कर्तव्य ज्यान मुद्दामा जोडिएका ८ जना प्रतिवादीलाई अदालतले दोषी ठहर गरेको छ भने ४८ जना प्रतिवादीलाई सफाइ दिएको मोरङ अदालतका श्रेस्तेदार उप-सचिव टिकेन्द्रवीरजङ राणाले जानकारी दिए । अभियोग दर्ता गराएकामध्ये फरार भएका २१ जना प्रतिवादीको हकमा अदालतले मुल्तबीमा राखेको श्रेस्तेदार राणाले जानकारी दिए ।

मुल्तबीमा राखेको प्रतिवादीको हकमा अदालतमा उपस्थित भएको खण्डमा फैसला हुने गर्दछ । अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय तोकिएकामा भोजराज भण्डारी, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले र नरेन्द्र कार्की रहेका छन् ।

सोही मुद्दाका प्रतिवादी राज कुमारलाई तीन वर्ष र मदन भन्ने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकेको श्रेस्तेदार राणाले जानकारी दिए । यो प्रकरणका मुख्य अभियुक्त गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा पनि कसुर निर्धारण हुने भएको छ । सो मुद्दामा कसुर निर्धारण भने एक महिनापछि हुने अदालतले जनाएको छ ।

जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो । मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विण्टल) सुन अवैधरूपमा आयात गरेको दाबी गरिएको छ ।

सुरुमा मुद्दा दर्ता गर्दा ६३ जना मात्रै प्रतिवादी थिए । तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन् । प्रतिवादीमध्ये ५६ जना पक्राउ परे र २१ जना अझै फरार छन् ।

तस्करी गरेर दुबईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेण्ट लगाएर यातना दिँदै २०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ का सनमको हत्या गरेको थियो । त्यही हत्याको अनुसन्धान थाल्दा विदेशबाट नेपालतिर हुने सुन तस्करीको बारेमा पत्ता लागेको हो । सुन तस्करी प्रकरणमा दशीको रूपमा सुन फेला नपरेपछि सुन मुद्दामा जोडिएका प्रतिवादीहरूले सफाइ पाएको अदालतले गरेको फैसलाको राय किताबमा उल्लेख गरेको छ ।

कस–कसले पाए सफाइ ?
सुन तस्करी मुद्दामा नेपाल प्रहरीका उच्च प्रहरी अधिकारीदेखि गोरेको श्रीमती र सुनमा लगानीकर्तासम्मले सफाइ पाएका छन् । चर्चित सुन तस्करी मुद्दामा अभियोग दर्ता भएको चार वर्षपछि ७७ जना प्रतिवादीमध्ये पक्राउ परेका ४८ जनाले सफाइ पाएका हुन् । सफाइ पाउनेमा नेपाल प्रहरीका पूर्व डिआइजी गोविन्दबहादुर निरौलासहित ४८ जना छन् ।

यसरी सफाइ पाउनेमा तत्कालीन एसएसपी हालका डिआइजी दिवेश लोहनी, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, प्रहरी जवान अमरबहादुर थापा मगर, प्रहरी हवल्दार विष्णुबहादुर खड्का रहेका छन् ।

यसैगरी विमानस्थलमा कार्यरत कर्मचारी, सुन व्यापारमा संलग्न आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोद्दार, भुजुङ गुरुङ, डेबिट भन्ने छिरिङ बाङले घले, राजेन्द्रकुमार शाक्यले पनि सफाइ पाएका छन् ।

यसैगरी गोरेको श्रीमती निरु भन्ने नर्वदा खरेल उप्रेतीले पनि सफाइ पाएकी छन् । चाचाजी भन्ने चेतननाथ भण्डारी, प्रमोदबहादुर श्रेष्ठ, हरिशरण खड्का, भूपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुण्यप्रसाद तामाङ, चन्दन भनिने वीरेनमान श्रेष्ठ, दोराम खत्री, बालकुमार श्रेष्ठ,  हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, समिरप्रसाद तोलाङ्गे, राजु महर्जन, बेनु श्रेष्ठ,  सुनिल श्रेष्ठ, रोशन भुसाल, रामहरि कार्की, गीता श्रेष्ठ, राजन थापा, तुलाराम थारुले सफाइ पाएको अदालतले जनाएको छ ।

यसैगरी अमरमान डङ्गोल,  मोतीराम श्रेष्ठ, विनोद अधिकारी, मदन सिलवाल, रामकुमार तिवारी, फालदुङ गुरुङ, रेवत भन्ने रेवन्तकुमार आचार्य, सञ्जय खेतान भन्ने प्रभाल अग्रवाल, आरडी भनिने राजकुमार दारुक, इन्दीराज उदिन, सलमान खान भन्ने सौचा, अकलबर साह र माल्दाइ भन्ने बालकुमार खड्काले सफाइ पाएको श्रेस्तेदार राणाले जानकारी दिए ।

फरार रहेका २१ जना प्रतिवादीलाई ‘मुल्तबी’
सुन तस्करी र हत्या मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा फरारसहित ७७ जनालाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको थियो । दर्ता भएकामध्ये ५६ जना पक्राउ परेका थिए । २१ जना फरार छन् । मुद्दाको अन्तिम सुनुवाइ हुने क्रममा पनि उनीहरू उपस्थित नभएपछि मोरङ अदालतले २१ प्रतिवादीलाई अदालतले मुल्तबीमा राखेको सूचना अधिकारी राजेन्द्र धमलाले जानकारी दिए । उनीहरूको हकमा फैसला भएको छैन । अदालतमा उपस्थित भएको खण्डमा उनीहरूको हकमा फैसला हुने अवस्थालाई मुल्तबी भनिन्छ ।

यी हुन् सुन मुद्दामा अझै २१ फरार अभियुक्त
साढे ३३ किलो सुन तस्करी मुद्दामा अझै २१ जना अभियुक्त फरार छन् । फरार हुनेहरूमा सुरेन्द्र गौतम, मो. सुस्तम मियाँ, युकबहादुर मगर, रोहित आचार्य, भविन भनिने भवित तामाङ, कृष्ण बस्नेत, एम मामा भन्ने मोहनकुमार अग्रवाल, कला भनिने सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, कमल कार्की, मणिराज चौंलागाईं, शिवकुमार गुभाजू, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समिर अधिकारी, माधव आचार्य, ओमप्रकाश नेवार, आर. बी. भन्ने सन्दीप खड्का रहेका छन् ।