इटहरी । इटहरीमा फेरि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार घटना असोज १५ गतेको हो ।
‘इभिनिङ वाक’ मा निस्किएकी इटहरीकी ३० वर्षीया महिलालाई ६ जनाको समूहले बलात्कार गरेको इप्रका इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिए । घटनामा संलग्नमध्ये पाँचजनालाई नियन्त्रणमा लिइएको छ भने एक जना फरार छन् । बलात्कारमा संलग्न आरोपीहरू अधिकांश १८ वर्षमुनीका छन् । उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ भने इटहरी–१४ का २७ वर्षीय सुनिल चौधरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छ ।
यसअघि इटहरीमा २०७६ असोज १४ गते सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो । धरानको तीनकुनेबाट मोरङको बेलबारी हिँडेको को.१ ख ४६२७ नम्बर खाम्दाके यातायातको बसमा सवार २२ वर्षीया युवतीमाथि बलात्कार भएको थियो ।
उक्त बलात्कारका आरोपी मोरङ हरैंचाका विकास कसाई, झापा सुरुङ्गाका सुरज थापा, सिरहा लहानका सुरेन्द्र भुजेल र मोरङ बेलबारीका आशिष कार्कीलाई पक्राउ गरिएको थियो । धरानबाट बस चढेकी युवतीलाई इटहरी–१० स्थित साथी पेट्रोलपम्प नजिकै लगेर सामूहिक बलात्कार गरेका थिए ।
पक्राउ परेकामध्ये नितेश घिमिरेले ती युवतीलाई गाडीको पछिल्लो सिटमा लगेर जबर्जस्ती मदिरा ख्वाइदिएको र मदिराले लठ्ठ भएपछि ६ जनाले बसभित्र पालैपालो बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
त्यस्तै २०७७ वैशाख १४ गते पनि इटहरीको सिमरवनामा १७ वर्षीया किशोरीलाई ९ जनाको समूहले बलात्कार गरेको थियो । बलात्कार आरोपी त्रिलोचन चौधरी र अमित चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । अन्य फरार छन् । पछिल्लो दुई वर्षको अन्तरालमा इटहरीमा तीनवटा सामूहिक बलात्कारका घटना सार्वजनिक भएका छन् ।
असोज १५ गते साँझतिर बलात्कारको शिकार बनेकी महिला भाइ नाता पर्नेसँग वाकमा गएकी थिइन् । महिलालाई जबर्जस्ती धान खेतमा लगी सामूहिक बलात्कार गरी महिलाको साथमा रहेका सुनसमेत लुटपाट गरेका छन् । डिएसपी अर्जुन केसीले पीडितले दिएको उजुरीका आधारमा ५ जनालाई पक्राउ गरिएको हो । घटना भएको केही समयमै उनीहरूलाई पक्राउ गरिएको थियो ।
उनीहरूविरुद्ध जबर्जस्ती करणीसँगै लुटपाटमा समेत मुद्दा चल्ने डिएसपी केसीले जानकारी दिए । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबर्जस्ती करणीसम्बन्धी कसुरमा पाँचदिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।