विराटनगर । मोरङ कारागारबाट सरुवा भएका चौकीदार नवीन राईलाई प्रहरीले स्किटिङ गरेर सुनसरीको झुम्का कारागार पु¥याएको छ । 

झुम्का कारागार सरुवा भएका राई जान नमानेपछि प्रशासनले उनलाई सोमबार साझतिर स्किटिङ गरेर कारागार पु¥याएको हो । गृह मन्त्रालयले एक महिनाअगाडि राईलाई सरुवा गरेको थियो तर उनले झुम्का कारागार जान आनाकानी गरेपिछ कारागार प्रशासनले प्रहरीको सहयोग लिएको हो । 

चौकीदार राईलाई दिउँसो ३ बजे लैजाने तयारी थियो तर उनी जेलभित्रबाट बाहिर निस्कन नमानेपछि सम्झाई बुझाई गरेर पाँच बजे झुम्का कारागार पठाइएको जेलर रामप्रसाद पोखरेलले बताए । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी राई मोरङ कारागारमा तीन वर्षदेखि चौकीदारको रूपमा कार्यरत छन् । उनको स्थानमा अपहरण आरोपमा जेलमा रहेका अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने तयारी स्वरूप सोमबार सारिएको हो । 

गिरी नआउन्जेलसम्मका लागि कर्तव्य ज्यान मुद्दाका किरण गुरुङलाई चौकिदार बनाइएको छ । अर्को व्यवस्था नभएसम्मका लागि गुरुङलाई मोरङ कारागारको चौकीदारको रूपमा नियुक्ति गरिएको मोरङ कारागारका जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । गुरुङ कर्तव्य ज्यान मुद्दामा २० वर्ष  कैद सजाय तोकिएका अभियुक्त हुन् । उनी पाँच वर्षदेखि मोरङ कारागारमा छन् । 

डिल्लीबजार कारागारमा रहेका गिरीलाई कारागार व्यवस्थापन विभागले मोरङ जिल्लामा सरुवा गरेको थियो तर सरकार परिवर्तनसँगै जहाँबाट सरुवा गरियो त्यहीँ ल्याउने निर्णयको विरोध भएपछि हाललाई स्थगित गरिएको छ । गिरी यसअगि मोरङ कारागारबाटै डिल्लीबजार कारागार सारिएका थिए । जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा २०७४ चैत २३ गते डिल्लीबजार कारागार सरुवा गरिएको थियो ।

गिरीलाई नेपाली कांग्रेसका नेताहरूको दबावमा मोरङ कारागार सरुवा गरिएको बताइन्छ । कांग्रेसनिकट गिरी विराटनगरका स्थायीवासी हुन् । सामान्यतः एकपटक सरुवा भइसकेका कैदीलाई पुनः त्यही ठाउँमा सरुवा नगर्ने नियम भए पनि विभागले गिरीलाई मोरङ पठाउने निर्णय गरेको थियो । त्यसको सवत्र आलोचना भएपछि तत्काललाई स्थगित गरिएको थियो ।

गिरीसँगै जेलमा रहेका सहयोगी राजु श्रेष्ठलाई पनि मोरङ कारागार स्थानान्तरण गर्ने निर्णय गरिएको छ । गत भदौ १७ गतेको निर्णयानुसार गिरी र श्रेष्ठलाई मोरङ कारागार सरुवा गर्ने भनिएको थियो । झण्डै एक हजार कैदीबन्दी रहेको मोरङमा कारागारमा मासिक रूपमा धेरै ठूलो धनराशि खर्च हुने गरेको छ । जेलभित्र चौकीदारको आम्दानी राम्रो हुन्छ । बाहिर बजार मूल्यमा खरिद गरिएका सामाग्री पाँच गुणासम्म मूल्य बढाएर कारागार भित्र चौकीदारले असुल्ने गर्दछन् ।

गिरीको मोरङ कारागारको सरुवाले कारागारका कैदीबन्दी भने त्रसित बनेका छन् । करण यादव हत्या आरोपमा गिरीलाई अदालतले २०६९ सालमा सफाइ दिएको थियो । २०६६ सालमा कारागारबाटै पर्शुराम बस्नेतलाई गोली हानेर हत्या गर्न खोजेको आरोप पनि गिरीलाई लागेको थियो । युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरी र श्रेष्ठलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको थियो । गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग सम्पत्तिमा शुद्धीकरण विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको थियो । अदालतबाट ३० लाख धरौटी तिरेर गिरी छुटेका थिए ।