संखुवासभा । संखुवासभाको मादी हत्याकाण्डमा जिल्ला अदालत संखुवासभाले आदेश दिएको छ । 

हत्यामा संलग्न ४ जनालाई जिल्ला कारागार खाँदबारीमा पुर्पक्षमा थुना राख्न र एकजनालाई बाल सुधार गृह विराटनगर पठाउन सोमबार आदेश दिएको हो । मादी नगरपालिका १ उम्लिङ खोला गाउँस्थित तेजकुमार कार्कीसमेत गरी एकै परिवारका ६ जनाको कर्तव्य गरी हत्या आरोपमा पक्राउ उनीहरूलाई अदालतले आदेश दिएको हो ।

गएको भदौ २१ गते हत्यामा संलग्न रहेको अभियुक्त सोही गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारीमा पठाइएको छ । त्यस्तै बाल विज्याईकर्ता एकजनालाई भने बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको हो ।

असोज १५ गते प्रहरीले सरकारी वकिल कार्यालय चैनपुरमा अनुसन्धान प्रतिवेदन पेश गरी आइतबार संखुवासभा जिल्ला अदालत चैनपुरमा उपस्थित गराई सोमबार थुनछेक बहस भएको थियो । सो बहस पछि अदालतले आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर शुभेष अधिकारीले जानकारी दिए ।