धरान । प्रदेश १ का विभिन्न स्थानमा शनिबार दुर्घटना हुँदा एक ९ महिने बालकसहित पाँचजनाको ज्यान गएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार तेह्रथुमको लालीगुराँस नगरपालिका, सुनसरीको दुहबी नगरपालिका, मोरङको विराटनगरमा दुर्घटना हुँदा एक बालकसहित पाँचजनाको ज्यान गएको हो । लालीगुराँस नगरपालिका ४ वसन्तपुर फुलेकको भित्रीसडकमा को २ त ८४३६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकभन्दा ३० मिटर तल खस्दा सोही ठाउँ ५ बस्ने करिब २२ वर्षका ट्याक्टर चालक पञ्चबहादुर मग्रान्तीको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै ट्याक्टरमा सवार सोही ठाउँका १५ वर्षीय खेम सार्कीको उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उक्त ट्याक्टरमा सवार म्याङलुङ नगरपालिका ७ का १७ वर्षीय दावा शेर्पा गम्भीर घाइते बन्दा लालीगुराँस ४ का २३ वर्षीय पवन राई सामान्य घाइते बनेका छन् । घटनास्थल तेह्रथुम बजारबाट १० किलोमिटर पूर्वमा पर्छ ।
सुनसरीको दुहबी नगरपालिका १० भित्रीसडक खण्डमा को १९ प ५०८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा चालक सोही ठाउँ ११ बस्ने ४५ वर्षीय ईश्वरचन माझी चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुहबी ८ सोनापुरमै ना ५ ख ४५१३ नम्बरको यात्रुबाहक बसले बाटो काट्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री बेलबारी नगरपालिकाका ७२ वर्षीय पवनलाल चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते बनेका उनलाई उपचारको लागि विराट अस्पतालमा पठाइएको मृत्यु भएको हो । बस र बसका चालक सप्तरी सप्तकोशी नगरपालिका ५ का ४४ वर्षीय रोहितबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ विराटनगर महानगरपालिका १४ मा बाटोमा पार्किङ गरिराखेको को १ ह ४३५० नम्बरको सिटी सफारीले लागेर ९ महिनाका सुनिल महतोको मृत्यु भएको हो । अढाई वर्षीय दाजु अनिल महतो सिटी सफारीमा खेल्ने क्रममा सिटी आफै अगाडि बढ्दा सुनिललाई लाग्न पुगेको थियो । उनको न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।