सुनसरीको कोसी गाउँपालिकाबाट लागु औषध खैरो हेरोईन (ब्राउनसुगर) सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कोसी गाउँपालिका १ का ३८ वर्षीय नसाद अली र भारतको अररिया जिल्ला बेला ८ का भारतीय नागरिक रमेश यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनकारी दिएको छ ।
कार्यालयका अनुसार विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरीको टोली २७ प ३०८१ नम्बरकाे मोटरसाइकलमा सवार अलीलाई लौकही बजारबाट १६४ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै यादवलाई सशस्त्र प्रहरी बलले १३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।