धनकुटा । दशैं तिहार जस्तो चाडपर्व नजिकिँदै गर्दा धनकुटामा नक्कली नोटको  कारोकार गर्ने गिरोह पक्राउ परेका छन्  । प्रहरीले नक्कली नोटसहित ५ जना भन्दाबढी स्थानिय युवालाई पक्राउ गरेसँगै धनकुटामा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

प्रहरीले सोमबार राती ९ बजेतिर धनकुटा नगरपालिका वडा नं. ९ मुलघाटमा चेकजाँचको क्रममा धनकुटा हिलेका २ जना युवकलाई १ हजारका दरका २८ हजार नक्कली नोटसहित पक्राउ गरे पछि यो रहस्य खुलेको हो ।

त्यसैगरी धनकुटाको हिले बजारबाट पनि प्रहरीले नक्कली नोटसहित अन्य २ जना युवालाई पक्राउ गरेको खुलेको छ । धनपा–३ मा पनि एक स्थानिय युवाको घरमा करिव १ लाख बरावरको नक्कली नोट रहेको खुलेको थियो ।

तर, उक्त नक्कली नोट रहेको प्रहरीले सूचना थाहा पाएपछि खोजतलास हुने डरले ति युवाले घरैमा मट्टितेल छर्किएर आगो लगाएर जलाएको पनि अर्को तत्थ्य खुलेको छ । ति युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको र केही समयमा पछि प्रहरीले छोडि दिएको समाचार श्रोतले बताएको छ । जिल्लाको महालक्ष्मी नगरपालिकाबाट पनि प्रहरीले एक जना नक्कली नोटको कारोबारी गर्ने एक जना गिरोहलाई पक्राउ गरेको श्रोतले दावी गरेको छ ।  

प्रहरीले बरामद गरेको सबै नोट हजार दरका छन् भने सबै नोट एकै नम्बरका छन् । प्रहरीले भने पक्राउ परेका ती युवकको पहिचान खुलाएको छैन । प्रहरी चेकजाँचको क्रममा मुलघाटमा पक्राउ परेका युवाको मोटर साईकलको लाईसेन्स चेक जाँच गर्दा लाईसेन्ससंग नक्कली नोट गोजीबाट निस्किएको थियो ।

उक्त नोट अर्को गोजीमा हाल्न खोज्दा प्रहरीले के हो भन्दै चेकजाँच गर्ने क्रममा नक्कली नोट २८ हजार भन्दा वढी फेला पारेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले बरामद गरेको १ हजार दरका सबै नक्कली नोट सामान्य आँखाले हेर्दा सक्कली जस्तै देखिन्छन् । ती नोट सर्वसाधारणले हेर्दा छुट्याउन नसकिने अवस्थाका छन् । प्रहरीले बरामद गरेको नक्कली नोट हल्का पातलो र खस्रो देखिन्छ । 

प्रहरीले पक्राउ परेका युवाहरुको नाम अहिलेसम्म अनुशन्धान प्रभावित हुने र मुख्य गिरोह उम्कने भन्दै गोप्य राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै नक्कली नोटको मुख्य योजनाकार वा गिरोह धनकुटा जिल्ला भन्दा वाहिरको रहेको दावी प्रहरीको छ । नक्कली नोटको मुख्य योजनाकार पक्राउ परेपछि घट्नाको सत्य तत्थ्य वाहिर ल्याउने प्रहरी श्रोतको भनाई रहेको छ ।

मुख्य योजनाकार धनकुटा जिल्ला भन्दा बाहिर रहेकोले नक्कली नोटको मुख्य गिरोह पक्राउ पर्न केही समय लाग्न सक्ने प्रहरीको दावी छ । चाडपर्वको मुखमा धनकुटामा २ लाख भन्दा बढी नक्कली नोटका कारोबारी सक्रिय हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।