धरान । बँदेलको मासुसहित सुनसरी प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान करिब ५ बजेतिर इनरुवा नगरपालिका ४ बसपार्क क्षेत्रबाट मोटरसाइकलमा सवार दुईजनालाई बँदेलको मासुसहित पक्राउ गरिएको हो । कोशी गाउँपालिका ६ का बिसे शर्मा र उदय मुखिया मलाहलाई पक्राउ गरिएको हो । उनीहरुले बोराभित्र काटेर हालेको अवस्थामा ३३ केजी बँदेलको मासु पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ आइरहेको स. १ प ९१७६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा काटेको अवस्थामा मासु बरामद भएको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको छ । उनीहरुमाथि वन ऐन २०४९ अनुसार कारबाही अगाडि बढ्ने जनाइएको छ ।