पथरी । चाडपर्व सुरु हुन लाग्दा मोरङको पथरीशनिश्चरे र कानेपोखरीको विभिन्न स्थानमा चोरीको घटना बढेको छ । चाड सुरु हुन लाग्दा विभिन्न स्थानमा सुनको गहना, मोबाइल, नगद तथा लुगा कपडा चोरी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
कानेपोखरी—४ को विनोद सुब्बाको घरबाट मोबाइल (रेड मी) र पेन्टको गोजीमा रहेको ६ सय नगद चोरी गरेको आरोपमा पथरीशनिश्चरे ८ शुक्रबारेका विनोद राई, केशव बिक, बिजय माझी प्रहरी नियन्त्रणमा परेका छन् ।
उनीहरूले १० गते आइतबार राति मोबाइल र पैसा चोरी गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरू २३ देखि २८ वर्ष उमेर समूहका छन् ।
कानेपोखरी ४ कै ७१ बर्बिया दिब्यकुमारी ढुङ्गानाले लगाएको कानको मारवाडी चोरले लुछेर लगेको पीडित परिवारले जनाएको छ । सोही घरका लक्ष्मी ढुङ्गानाले बोक्ने सामसङ मोबाइल पनि लगेको थियो । राति सुतेको अवस्थामा चार आना बराबरको मारवाडी चोरले लुछेर लगेको हो । घटना भदौ २५ गते रातिको हो ।
त्यसको दुई दिनपछि २७ गते राति सूर्यमाया लिम्बुको घरबाट सुनको दुई वटा औँठी, तिलहरी, जग्गा धनिपुर्जा र नागरिकता चोरी भएको थियो । चोरले गहना लगायतको सामाग्री राखेको बाकसै बोकेर लगेको ढुङ्गानाले बताए । बाकस डाँसखोला छेउमा लगेर फोरिएको अवस्थामा फेला परेको थियो ।
यो सबै घट्नामा पक्राउ परेका ब्यक्तिहरुको समूह हुन सक्ने पीडितहरूको भनाइ छ । यता पथरीशनिश्चरे १ को सुनाखरी चोक स्थित पर्शुराम राईको घर फोरेर गहना तथा लगाउने कपडा चोरी भएको छ । घटना १० गते रातिको हो ।
घरमा कोही नभएको बेला दुई वटा कोठा फोरेर राई समुदायको सांस्कृतिक चाडमा लगाउने पैसा र चाँदीको दुई थान हारी, भेटी ९सिक्का पैसा०करिब एक किलो, दुई थान साडिचोला चोरी भएको स्थानीय कर्ण राईले बताए । चोरी गर्नेले लाइटर छाडेको र त्यही लाइटरको आधारमा चोर पत्ता लागेको राईले बताए ।
सामान २० वर्षीय अजय सुब्बाले खोला छेउमा लुकाएको अवस्थामा फेला परेको बताइएको छ । सुब्बा प्रहरी नियन्त्रणमा रहेका छन् । पक्राउ परेका सबैलाई चोरी सम्बन्धी मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए ।