विराटनगर । साढे ३३ किलो सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या मुद्दाको फैसला हुनुभन्दा अगाडिको अन्तिम बहसमा वादीतर्फबाट सरकारी वकिलले बहस सकेका छन् ।

सरकारतर्फबाट सरकारी कानून व्यवसायीहरूले बहस सकेपछि सोमबारदेखि प्रतिवादीतर्फका कानून व्यवसायीहरूले बहस सुरु गरेका हुन् ।

सरकार पक्षका कानून व्यवसायीको बहस सकिएपछि सोमबारबाटै प्रतिवादीतर्फका कानून व्यवसायीको पनि बहस सुरु भएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार प्रतिवादीको पक्षमा हुने प्रतिरक्षा बहस सकिएपछि अदालतले मुद्दाको फैसला गर्ने छ ।

प्रतिवादीतर्फका कानून व्यवसायीहरूको बहस सकिन अझै एक साता लाग्ने अनुमान गरिएको छ । प्रतिवादीको बहस सकिएपछि फैसला हुने अदालतले जनाएको छ । सुन मुद्दाको फैसला दशैंअगाडि हुनसक्ने अनुमान गरिएको छ ।  प्रतिवादीका पक्षमा बहस गर्न ८० जनाभन्दा बढी कानून व्यवसायीले वकालतनामा दर्ता गराएको सूचना अधिकारी धमलाले बताए ।

मङ्गलबार प्रतिवादीमध्येका पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाको बहस सकिएको छ । उनले दुई जना कानून व्यवसायी राखेका थिए । पूर्वडीआईजी निरौला भने यसअघि नै उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन् ।

फैसलाको चरणमा रहेको मुद्दाको अन्तिम सुनुवाइ आइतबारबाट सुरु भएको थियो । दुई दिन लगाएर सरकारी वकिलले बहस सकेको मोरङ अदालतले जनाएको छ ।

मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सह–न्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले बहस गरे । यो मुद्दामा उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी छन् ।

जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो । मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विण्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ ।

सुरुमा मुद्दा दर्ता गर्दा ६३ जना मात्रै प्रतिवादी थिए । तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन् । प्रतिवादीमध्ये ५५ जना पक्राउ परे ।  २२ जना अझैसम्म फरार छन् ।

तस्करी गरेर दुबईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेण्ट लगाएर यातना दिँदै २०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको थियो । त्यही हत्याको अनुसन्धान थाल्दा विदेशबाट नेपालतिर हुने सुन तस्करीको बारेमा पत्ता लागेको हो ।