धरान । स्वचालित हतियारसहित मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोक बजारको एक सुनपसलमा लुटपाट गर्ने सातजनाविरुद्ध चारवटा शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।
जिल्ला अदालत मोरङमा चारवटा शीर्षकमा मुद्दा दर्ता गरिएको हो । प्रहरीले करिब दुई महिना लगाएर मिसिलसहितको अनुसन्धान प्रतिवेदन जिल्ला न्यायाधीवक्ता कार्यालय मोरङमा बुझाएलगत्तै मुद्दा दर्ता गरिएको हो ।
उनीहरूविरुद्ध हातहतियार खरखजना, डाँका उद्योग, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधमा मुद्दा दर्ता गरिएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । गत साउन १ गते दिउँसो स्वचालित हतियार एसएमजीसहित पुगेका टोलीले सुन्दरहरैँचा नगरपालिका–१० का खगेन्द्र थापाले सञ्चालनमा ल्याएको सुन–चाँदी पसल लुटपाटको प्रयास गरेका थिए । उनीहरूको प्रयास असफल भएको थियो । उक्त घटनामा सुरुमा दुईजना मात्रै भनिए पनि प्रहरीले अनुसन्धान गर्दै जाँदा अन्यको पनि संलग्नता देखिएपछि साउनको दोस्रो सातातिर पक्राउ गरेको थियो ।
प्रहरीले सङ्खुवासभा घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–२० बस्ने ३९ वर्षीय चन्द्रबहादुर राई, ३० वर्षीय चिरञ्जीवी राई, सुनसरी गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी लगायतलाई पक्राउ गरेको थियो । त्यस्तै ३३ वर्षीय आशिष चौधरी, मोरङको सुन्दरहरैँचा–५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैंचा–७ का ३१ वर्षीय सन्तोष राई र भोजपुर घर भई तरहरा बस्ने ३० वर्षीय नगेन्द्र राईविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट एसएमजी, पेस्तोल र ठूलो परिमाणमा गोली तथा म्यागजिन बरामद गरेको थियो । घटनामा संलग्नमध्ये दुईजना पूर्वमाओवादीमा संलग्न व्यक्ति थिए ।