धरान । झापा प्रहरीले दमकको जूवा खालमा नेपाल बिद्यार्थी संघका जिल्ला सभापति राजेन्द्र उप्रेतीलाई पक्राउ गरेको खुलेको छ । उप्रेतीसहित १७ जनालाई प्रहरीले दमकको एक घरमा मंगलबार राती जुवा खेलिरहेको बेला पक्राउ गरेको थियो ।
पक्राउ परेपछि उप्रेतीले नाम ढाँटेको पत्ता लागेको छ । उप्रेतीले कनकाई –३ ठेगाना दिई सुनिल शाह नाम लेखाएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । सुनिल शाह नाम लेखाउने ब्यक्ति नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेती भएको पुष्टि भएको थापाले बताए । नाम ढाँट्नेहरुको नागरिकता मगाएर प्रहरीले जाँच गरेको थियो ।
दमक १ स्थित हिमाल देवानको घरबाट १७ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार १७ जनामा धेरैले गलत नाम लेखाएका थिए । त्यसमध्ये उप्रेतीले समेत कनकाई –३ सुनिल शाह नाम लेखाएको दमक प्रहरीले जनाएको छ ।
नेविसंघ झापाका सभापति उप्रेतीलाई पक्राउ गरिएको विषय गोप्य राख्न जिल्ला प्रशासन र प्रहरीलाई समेत राजनीतिक तहबाट दवाव दिइएको छ । तर, प्रहरीले नियमानुसार नागरिकता झिकाएपछि नेविसंघका सभापति राजेन्द्र उप्रेती नै भएको पुष्टि भएको छ ।
जुवाखालबाट प्रहरीले विशेष सूचनाको आधारमा १६ थान कौडा र चार लाख सत्ताईस हजार छ सय रुपैयाँ नगद समेत बरामद गरेको थियो ।
प्रहरीले उप्रेती सहित भद्रपुर ७ का युवराज न्यौपाने, वडा नं ९ बस्ने दिल बहादुर राई, बिर्तामोड–१ का तिर्थ अधिकारी, भद्रपुर १० का ठाकुर प्रसाद निरौला (घाईते), गौरादह ५ का हरि कोईराला, कमल ४ का सुबिन्द्र सुब्बा, कन्काई ३ का मोहन बराल, मोरङ ग्रामथान ४ का लक्ष्मी प्रसाद अधिकारी, नैन कुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरे ४ का बलराम बस्नेत, गंगाराम मगर, बेलबारी ११ का निशान पोखरेल, दमक ७ का कर्ण राई, राजन दाहाल र विनोद थेबेलाई पक्राउ गरेको छ । म्याद थप गरेर उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।