कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । 

उहाँले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका छन् । 

अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा देखिएको र यसको निराकरणका लागि आवश्यक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

राष्ट्रपति सि जिनपिङले भने, ‘अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको एक चुनौतीका रुपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आँकलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्ने छ ।’ 

अहिले पनि विश्व यो महामारीसँग संघर्ष गरिरहेको र कोरोना महामारीको नियन्त्रणका लागि अहिले देखिएको एकमात्र उपाय भनेको नै खोप भएकाले विश्वले एकआपसमा सहयोगका साथमा अघि बढ्नुपर्ने उनको भनाइ छ । 

राष्ट्रपति जिनपिङले हालसम्म चीनले विश्वका कम्तीमा पनि एक सय देशलाई खोप अनुदान दिएको जानकारी पनि दिएका छन् ।

साथै चीनले हालसम्म विश्वका करिब ६० देशमा खोपको निर्यात गरिरहेको जानकारी पनि गराए । 

हाल तेस्रो विश्वका कतिपय देशहरुमा खोपको खाँचो महसुस भइरहेकाले सबैले यसको मात्रा प्राप्त गर्न पाउन् भनेर सबै मिलेर आपसमा सहयोग गर्नुपर्ने उनको भनाई छ । 

उता चीनले हालैमात्र यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग दिने भएको जनाएको थियो । 

चीनले यसै वर्षको अन्तिमसम्ममा कोभ्याक्स कार्यक्रममा एक करोड अमेरिकी डलर सहयोग गर्ने पनि बताएको छ । 

राष्ट्रपति जिनपिङले यो कुरा बताउनुभएको थियो । उहाँले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने हालैमा बताएका थिए ।  

राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिडविरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताएका थिए । 

कोभिड–१९ को–अपरेशन फोरमको हालै सम्पन्न भएको सो बैठकमा राष्ट्रपति सि जिनपिङले यो सन्देश दिएका छन् । 

राष्ट्रपति जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि दिए । 

राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकीकृत गरी खोप तथा अन्य आवश्यक सहयोग जुटाउन चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिएका छन् ।