धरान–१ सनमार्गमा डेरा बस्दै आएका दुवै मृगौला पीडित ४० वर्षीय सुमन वर्देवा (दर्जी) को प्रत्यारोपण गर्ने मृगौला भए पनि पैसाको अभाव भएको छ ।

सुमनको आफ्नै बहिनीले मृगौला दिन मिल्ने भएपछि प्रत्यारोपण गर्न तयार भएका पीडित परिवारसँग प्रत्यारोपण गर्ने रकम अभाव भएको हो । उनका परिवारले अहिले सबैको थोरै–थोरै सहयोग भए नयाँ जीवन पाउने याचना गरिरहेका छन् । सहयोग गर्न सामाजिक सञ्जालमा आग्रह गरेका छन् । मोरङको पथरीशनिश्चरे ४ नम्बर वडावासी सुमनका भतिजा विशाल बर्देवाले आफ्नो काकाको मृगौला प्रत्यारोपणमा लागि परेका छन् । उनले स्वदेश र विदेशका साथीभाइलाई आग्रह गरेर १ लाख ४० हजार रकम जुटाइसकेका छन् । 

दिनभर काम गरेर बेलुका परिवारको छाक टार्दै जीविकोपार्जन गर्दै आएका सुमनलाई आफ्नै कान्छी बहिनी मुनाले मृगौला त दिने भएकी छन् । तर, मृगौला फेर्नका लागि आवश्यक खर्च अभाव रहेकाले जीवन बचाइदिन सुमन बर्देबा र उनकी पत्नी सन्तोषी राई (दर्जी) ले आम जनसमुदायसँग याचना गरेका छन् । 

मृगौला प्रत्यारोपण काठमाडौको त्रिवि शिक्षण अस्पताल र भक्तपुरस्थित अस्पतालमा प्रत्यारोपण हुन्छ भनेको सुनेको पीडित बर्देवा परिवारले बताए । प्रत्यारोपणका लागि १३ देखि १५ लाखसम्म खर्च लाग्ने सन्तोषी राईले बताइन् । 

‘मलाई बाँच्ने इच्छा छ, बचाउनुस्’ पीडित सुमनले भने, ‘बहिनीले मृगौला दिने भएपछि बाँच्छु भन्ने लागेको छ, प्रत्यारोपण गर्न रकम जुटाइदिन देश, विदेशमा रहनु भएका दाजुभाइ दिदीबहिनीहरुलाई अनुरोध गर्दछु ।’

स्थायी घर संखुवासभाको खाँदबारी भएका सुमन सुनसरीका धरान–१ सनमार्गमा करिब दुई दशकदेखि बस्दै आएका थिए । पेसाले यातायात तथा मिनीमालबाहक गाडी चालक बर्देवा, पत्नी सन्तोषी राई, दुई छोरी र एक छोराका अभिभावक हुन् । डेरामा बसेर गाडी चलाउने पेसाले परिवार पाल्दै आएका बर्देबाको दुबै मृगौलाले काम गर्न छाडेपछि अङ्ग फेर्न मात्र होइन, जीविकोपार्जनमा समेत समस्या आइलागेको छ । लामो समय यातायातको साधन चलाउँदै आएका सुमनले मालबाहक पिकअप किनेर चलाउँदै आएका थिए । 

गत चैत्र २७ गते सुमनलाई दाँत दुःखेको महशुस भयो । अस्पताल गएर परीक्षण गराए । दाँतको डाक्टरले रगत परीक्षण गर्ने सुझाव दिए । सोहीअनुसार परीक्षण गराउने क्रममा शरीरमा रगत कम हुँदै गएको पत्ता लाग्यो । यसै क्रममा सुमन बर्देबाको दुबै मृगौला काम नलाग्ने अवस्थामा पुगेको थाहा भयो । 

सुमनलाई शरीरमा घोच्ने, पोल्ने, खुट्टा सुन्निने जस्ता समस्याले च्याप्दै लगेपछि गाडी चलाउने काम छाडेर उपचारमा लागे । स्वास्थ्यकर्मीले हप्तामा दुई पटक डाइलासिस गर्नुपर्ने सुझाव दिए पनि हालसम्म पाँच पटक मात्र गराएको पत्नी सन्तोषी राईले जानकारी दिइन् । आफूसँग भएको केही रकम र पिकअप भेन बिक्री गरेर औषधि, डाइलोसिसलगायतको उपचार भइरहेको छ । उमेरले ४० मात्र पुग्दै गरेकाले स्वास्थ्यकर्मीहरुले सकेसम्म मृगौला प्रत्यारोपण गर्न सुझाव दिएको पीडित सुमनका भतिज विशाल बर्देबाले बताए । 

सहयोग गर्न चाहनेका लागि पीडित सुमन बर्देबाकी पत्नी सन्तोषी राई (दर्जी) ले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २१६००२८०६७१० उपलब्ध गराएकी छन् । सुमनको जीवन बचाउन सहयोग गर्न चाहनेका लागि सन्तोषीले ९८१४३६५००३, ९८०५३८६६२४ मोबाइल नम्बरमा फोन सम्पर्क गरेर सहयोग गरिदिन अनुरोध गरेकी छन् । 

यसैबीच पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाद्वारा सहयोग शुरुवात भएको छ । मृगौला पीडित सुमन बर्देबाको उपचारमा सहयोग पुर्‍याउन उपप्रमुख बास्तोलाले ५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् । 

बिहीबार मृगौला पीडित सुमनका भजित विशाललाई नगरपालिकामै बोलाएर सहयोग प्रदान  गरेकी हुन् । 

सहयोग हस्तान्तरण गर्दै उपप्रमुख बास्तोलाले सुमनको शिघ्र, स्वास्थ्य लाभको कामना गरिन् ।

सुमनको जीवन रक्षाको लागि वडाबाट सिफारिस आए नगरबाट पनि सकेको सहयोग गर्ने उपप्रमुखले प्रतिबद्धता व्यक्त गरिन् । सोही कार्यक्रममा नगरको कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य भद्रमान बिकले १ हजार सहयोग प्रदान गरे । सुमन बर्देबाको उपचार खर्च जुटाउन पथरीशनिश्चरे ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीले पनि सहयोग गरिरहेको पीडितको भजित विशाल बर्देबाले बताए ।