विजयपुर । नेवार एकता समाज केन्द्रीय समितिले स्थलगत अध्ययन गरेर व्यवस्थापकीय कमजोरीले धरानमा खानेपानी समस्या भएको निष्कर्ष निकालेको छ ।
समाजले स्थलगत अध्ययनपश्चात् वृत्तचित्र (भिडियो) सार्वजनिक गरेको छ । समाजले शुक्रबार उद्योग वाणिज्य सङ्घको हलमा ‘खानेपानी समस्या अभाव कि बेवास्ता’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम गर्दै वृत्तचित्र सार्वजनिक गरेको हो ।
समाजका अध्यक्ष महेश श्रेष्ठले स्थलगत अनुगमनमा भूमिगत पानी तान्ने तीनवटा वेल सञ्चालनमा नरहेको पाइएको बताए । उनले खानेपानी समस्या स्रोतको अभावभन्दा पनि व्यवस्थापकीय कमजोरीले भएको बताए ।
वृत्तचित्रमा खानेपानीको पाइपलाइनबाट ठाउँठाउँमा चुहावट भएको देखिन्छ । उनका अनुसार धरान खानेपानी बोर्डले सामान्य कुरा ‘कनेक्टर’ जडान नगर्दा सात दिनदेखि दुई वेल नचलेको बताए । अध्यक्ष श्रेष्ठले मुहानमा पानी छ कि छैन भनेर अध्ययन गरेको बताउँदै भने, ‘भूमिगत स्रोतको पानी पर्याप्त रहेछ । व्यवस्थापकीय कमजोरीले धरानमा खानेपानीको अभाव भएको छ ।’ दैनिक २५ लाख लिटर उत्पादन गर्ने वेल सात वर्षदेखि बन्द भएको वृत्तचित्रमा देखिएको छ ।
उक्त वेल सञ्चालन गरे पानी आउने त्यहीँ कार्यरत कर्मचारीले बताएको वृत्तचित्रमा देखाइएको छ । वृत्तचित्रमा ४० लाख लिटर पानी प्रतिदिन आउने स्रोत भए पनि वेल नचलाएको देखाइएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘दैनिक ८० लाख लिटर पानी सहजरूपमा आउने देखिन्छ ।’
स्रोतको अभावले धरानमा पानी अभाव नभएको उनले बताए । अन्तरक्रियामा निवर्तमान नगर उपप्रमुख मञ्जु भण्डारी सुवेदीले नगरप्रमुख हर्कराज राईले विगतमा संस्थानबाट परिचालित भएर आन्दोलन गरेको आरोप लगाइन् । उनले परिचालित भई आन्दोलन गरेकाले बोर्डमा ल्याई इन्टरकनेक्सन गर्न नसकेको बताइन् ।
उनले भनिन्, ‘मेयरलाई पनि संस्थानले परिचालित गरेको रहेछ । पछि सार्वजनिक भएको छ । जसले दियो, उसले भनेको छ । किन संस्थानले परिचालित ग¥यो भने फाइदा थियो ।’ धरान १६ अध्यक्ष मुरारी भट्टराईले खानेपानी समस्या समाधानका लागि भूमिगत पानी वेल थप्नु पर्ने बताए ।
खानेपानी बोर्डका सदस्य समेत रहेका नेपाली काङ्ग्रेस धरानका सभापति श्याम पोखरेलले बोर्ड बैठकमा आफूहरू नबोलाएको बताए । उनले भने, ‘जुन सुकै दलबाट प्रतिनिधित्व गरेपन खानेपानीको काम लगाउँदा गरेको हौँ ।’ उनले थपे, ‘दलबाट कोही पनि अछुतो छैन । मेयर राई पनि पहिले त दलमा नै हुनुहुन्थ्यो ।’