विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ ।

कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू मिलेर मात्रै पनि सरकार बन्न सक्ने सङ्केत देखिएको छैन ।

एमालेसहितको अर्को गठबन्धनको पनि यस्तै अवस्था छ । सरकार बनाउनका लागि दुवै पक्षलाई अरू दलको सहयोग आवश्यक पर्ने देखिएको छ ।

सङ्घीय संसद्देखि अन्य ६ वटै प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने अनुमानका बीच प्रदेश १ मा भने अन्यौल कायमै छ । जसका कारण सत्ता गठबन्धन दलमा छट्पटी सुरु भएको छ ।

५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका ५५ वटा निर्वाचन क्षेत्रको परिणाममा सत्ता गठबन्धन केही सिटले अगाडि छ । तर, समानुपातिक मतमा एमाले र राप्रपाले लिएको अग्रताले सत्तापक्ष झस्किएको हो । सुनसरीको क्षेत्र नम्बर ३ (२) मा मतगणना जारी छ ।

उक्त क्षेत्रमा एमालेले जितेको खण्डमा प्रत्यक्षमा एमाले–राप्रपा–जसपाको गठबन्धनको सिट सङ्ख्या २७ पुग्नेछ । यो समाचार तयार पार्दासम्म भने एमालेका उम्मेदवार रामदेव यादवले अग्रता लिएका छन् । काङ्ग्रेसका उम्मेदवार विन्देश्वर यादवलाई २ सय १२ मतले पछि पार्दै एमाले उम्मेदवार यादव अग्रता लिएका हुन् । यादवले १० हजार ७ सय ५० मत ल्याएर अग्रता कायम राख्दा उनका प्रतिस्पर्धी विन्देश्वरले १० हजार ५ सय ३८ मत ल्याएर पछ्याउँदैछन् ।

काङ्ग्रेसका उम्मेदवार विजयी भए सत्ता गठबन्धनले प्रत्यक्षमा ३० सिट जित्ने देखिन्छ । यता सत्ता गठबन्धन दलहरू नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा २९ सिट जितिसकेका छन् ।

प्रदेशमा सरकार गठनका लागि आवश्यक सङ्ख्या ४७ चाहिन्छ । ९३ सदस्यीय प्रदेश १ प्रदेशसभामा ५६ प्रत्यक्ष र ३७ समानुपातिक प्रणालीमार्फत् प्रदेश सांसद् चुनिँदैछन् । प्रदेशसभामा प्रत्यक्षतर्फ २ सिटको अन्तर भए पनि समानुपातिक तर्फको मतमा देखिएको अग्रताले एमाले–राप्रपा–जसपाको गठबन्धनले बहुमत पाउने देखिन्छ ।

प्रदेश १ मा समानुपातिक मतमा एमाले पहिलो छ । कुल सदर मत १७ लाख १० हजार ९ सय ९७ मतगणना हुँदा सोमबार साँझसम्म एमालेले ५ लाख ९८ हजार १ सय ८० मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसले ५ लाख १ हजार ७ सय ३, राप्रपाले तेस्रो स्थानमा उक्लँदै १ लाख ८२ हजार ८ सय ९८ मत पाएको छ । चौथो स्थानमा झरेको माओवादी केन्द्रले १ लाख ६७ हजार ६ सय २६, जसपाले ५५ हजार २ सय ७६ मत पाएको छ । अन्य पार्टीहरूले थ्रेसहोल्ड अर्थात्् १ दशमलव ५ प्रतिशत मत कटाएका छैनन् ।

अहिलेको समानुपातिक मत प्रतिशतको आधारमा नेकपा (एमाले)ले १४, नेपाली काङ्ग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४ वटा, जसपाले २ र नेकपा (एस)ले १ सिट पाउने देखिन्छ । त्यही आधारमा अन्तिम परिणाम आए एमाले, राप्रपा र जसपाको गठबन्धनलाई समानुपातिक सिट २० वटा हुन्छ । प्रत्यक्षमा २६ सिट (सुनसरी ३ (२) काङ्ग्रेसलाई जितेको खण्डमा) रहेको एमाले नेतृत्वको गठबन्धनले २० सांसद् समानुपातिकबाट थप गरे उसको सङ्ख्या ४६ पुग्ने देखिन्छ ।

यता सत्ता गठबन्धनको भने सुनसरी ३ (२) काङ्ग्रेसले जितेको खण्डमा प्रत्यक्षमा ३० भएसँगै समानुपातिक १७ सिट थप गर्दै ४७ सिट पु¥याउन सक्छ । सुनसरी ३ (२)को मतपरिणामले पनि सत्तापक्षको गठबन्धन या एमाले गठबन्धनमध्ये कसले सरकार बनाउला भन्ने केही हदसम्म निर्धारण हुने देखिन्छ ।

यसपटक बहालवाला मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरू अनि पहिले सङ्घीय संसद्मा प्रतिनिधित्व गरिसकेका नेताहरू पनि मुख्यमन्त्री बन्ने योजनासाथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

काङ्ग्रेसबाट मुख्यमन्त्रीका लागि केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरका पूर्वमेयर भीम पराजुली, प्रदेश १ समितिका सभापति उद्धव थापा, हालका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीलगायत चर्चामा छन् । प्रदेश सभापति थापाको नाम काङ्ग्रेसको समानुपातिक सूचीको १ नम्बरमा छ ।

यसैगरी माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, मुख्यमन्त्रीका लागि चर्चामा छन् । हालका मुख्यमन्त्री एकीकृत समाजवादीबाट राजेन्द्र राई पनि दोहोरिन चाहान्छन् । एमालेबाट मुख्यमन्त्रीमा हिक्मत कार्कीको नाम चर्चामा रहेको छ ।

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहेका कार्कीले समानुपातिक मतगणना सकिएपछि प्रदेश सरकार बनाउने विषयमा आवश्यक छलफल हुने बताए । सम्भावित मुख्यमन्त्रीका रूपमा चर्चामा आएका कार्कीले समानुपातिक प्रणालीको गणनापछि यस विषयमा छलफल हुने बताए ।

‘सरकार निर्माणमा सहमति अनुरूप नै हुन्छ’ उनले भने, ‘समानुपातिकतर्फको सबै मतगणना सकिएपछि पार्टीले संसदीय दलको नेता को बन्ने भन्ने निर्धारण गर्नेछ । एमालेले संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्नेछन् । पार्टीले निर्णय गरिसकेको छैन । पहिले संसदीय दलको नेता चुनिनुपर्छ, पार्टीले निर्णय गर्दाको अवस्थामा जिम्मेवारी सम्हाल्न तयार छु ।’ उनले एमाले, राप्रपा र जसपा मिलेर प्रदेश सरकार सञ्चालनको लागि बहुमत आउने सम्भावना बलियो देखिएको बताए ।