इनरुवा । सुनसरी ४ को अवरुद्ध मतगणनाको विषयलाई लिएर एमालेले सडक सङ्घर्ष थाल्ने चेतावनी दिएको छ ।

स्वयम् एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले त्यस्तो चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनको आयोजना गरी एमाले उम्मेदवार कुसियैतले भने, ‘गणनामा आलटाल भैरहेको छ । एमाले कानूनसम्मत अघि बढ्न चाहन्छ । तसर्थ आयोगले तत्काल निर्णय देओस् र गणना सुचारु होस् ।’

कुसियैतले काङ्ग्रेस उम्मेदवार सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले हुँदै नभएको कानूनविपरीत हुने विषय उठान गरेर मतगणना अवरुद्ध पारेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा कुसियैतले मतगणनामा ढिलाइ भए एमाले सडक सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए । सुनसरी ४ को प्रतिनिधिसभातर्फको मतगणनामा काङ्ग्रेसले धाँधलीको आरोप लगाएको छ । स्वयम् काङ्ग्रेसका उम्मेदवार कार्कीले धाँधलीको आशङ्का गरेका छन् ।

सो विषयलाई लिएर काङ्ग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको मागसहितको उजुरी हालेको छ ।  यता निर्वाचन अधिकृतको कार्यालयले उजुरीबारे निर्वाचन आयोगमा जानकारी पठाइएको र निर्णयको प्रतीक्षामा रहेको जनाएको छ ।
यसैबीच एमालेको पत्रकार सम्मेलनपछि सुनसरी काङ्ग्रेसले समेत पत्रकार सम्मेलनको आयोजना गरी धारणा सार्वजनिक गरेको छ ।

पार्टीको कार्यालय इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला सभापति केदार भण्डारीले पुनः मतगणना नभए आफूहरूलाई स्वीकार्य नहुने बताए । उनले धाँधली प्रमाणित भएको भन्दै आयोगले पुनः गणनाको निर्णय गर्नुपर्ने बताए । पत्रकार सम्मेलनमा उनले एमालेतर्फ लक्षित गर्दै आन्दोलनका नाममा धम्की नदिन आग्रह गरे ।
inaruwa 1