विराटनगर । २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ मोरङमा प्रत्यक्षतर्फ जम्मा एक सिट जितेको काङ्ग्रेसले यस चुनावमा सिट सङ्ख्या बढाएको छ । ६ वटा प्रतिनिधि र १२ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको मोरङमा काङ्ग्रेसले प्रतिनिधि सभातर्फ यस चुनावमा सिट सङ्ख्या बढाएको हो ।

शनिबार राति यो समाचार तयार पार्दासम्म मोरङको प्रदेशतर्फ १२ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजानिक भएको छ । शनिबारसम्म ६ वटै क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा प्रतिनिधि सभामा काङ्ग्रेसले ३, माओवादीले १, एमालेले १ र स्वतन्त्रले १ सिट हात पारेको छ । परिणाम आउन बाँकी रहेको मोरङ क्षेत्र नम्बर १ मा पनि काङ्ग्रेसले अग्रता लिएको छ ।

यस्तै प्रदेशतर्फ एमाले र माओवादीले २०७४ निर्वाचनमा जितेको सिट सङ्ख्या सुरक्षित गरेका छन् । काङ्ग्रेसको  एक सिट घटेको छ भने जनता समाजवादी पार्टी (जसपा) ले विगतमा जितेको एक सिट पनि यस चुनावमा सुरक्षति गर्न सकेन । एमालेबाट विभाजित भएर गएको एकीकृत समाजवादी पार्टीले यस चुनावमा मोरङबाट खाता खोल्न सकेन । २०७४ मा प्रतिनिधि सभामा एमालेले ३, माओवादीले २ र काङ्ग्रेसले १ सिट जितेको थियो । यस्तै प्रदेशतर्फ एमालेले ५, काङ्ग्रेसले ४ माओवादीले २ र जसपाले १ सिट जितेको थियो ।

मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा  एमालेले ५, काङ्ग्रेसले ५ र माओवादीले २ सिट हात पारेका छन् । मोरङ क्षेत्र नम्बर १ बाट काङ्ग्रेसका डिकबहादुर लिम्बू निर्वाचित भएका छन् । उनले एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै विजयी बनेका हुन् । क्षेत्र नं. २ बाट एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधि सभामा विजयी भएका छन् । उनले ३३ हजार १ सय ४८ मत ल्याए । उनका प्रतिस्पर्धी काङ्ग्रेसकी सुजता कोइरालाले ३१ हजार ९ सय ४० मत पाइन् ।

पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतान्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली काङ्ग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्मा विजयी भएका छन् । ढकाललाई २२ हजार ७ सय ३६ मत मतान्तरले पछि पार्दै शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शर्माले ४८ हजार ६ सय ३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८ सय ९५ मत ल्याएका छन् । तेस्रो भएकी रेखा थापाले १० हजार ९ सय ८८ मत ल्याएकी छन् ।

२०७४ मा शर्मा र ढकालले मोरङ क्षेत्र नं. ३ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला ढकालले शर्मालाई १ हजार ९ सय ७ मतान्तरले पराजित गरेका थिए । त्यसबेला ढकालले ४२ हजार ४ सय १३ मत ल्याएका थिए भने शर्माले ४० हजार ५ सय ६ मत पाएका थिए । यसपटकको चुनावमा शर्माले ०७४ मा हारेको बदला लिँदै फराकिलो मतान्तरले विजयी भएर संसद् भवन प्रवेश गर्न सफल भए । मोरङ ३ लाई एमालेको गढ मानिन्छ । यसपटक भने यो क्षेत्रमा काङ्ग्रेसले जित निकालेर इतिहास रचेको छ ।

मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले नेकपा (एमाले)का नेता विनोद ढकाललाई पराजित गरेका छन् । मोदीले ३० हजार ६ सय १२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ढकालले २४ हजार ४ सय ६३ मत पाए ।

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डल जोगी मोरङ क्षेत्र नंं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाका उम्मेदवार राजकुमार यादवलाई पछि पार्दै जोगी विजयी भएका हुन् । उनी २१ हजार ८ सय २० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी माओवादीका मण्डलले १७ हजार ४ सय ८६ र तेस्रो भएका जसपाका यदावले १७ हजार ३ सय ९० मत पाए ।

मोरङ ६ बाट काङ्ग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । उनले फराकिलो मतान्तरले एमालेका नेता लालबाबु पण्डितलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । कोइराला ३५ हजार २ सय २४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पण्डितले २२ हजार ९ सय ४६ मत पाए ।

प्रदेशमा काङ्ग्रेस र एमाले बराबरी
मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ५, काङ्ग्रेसले ५ र माओवादीले २ सिट हात पारेको छ ।

मोरङ क्षेत्र नं. १(१)मा एमालेका उमाकान्त गौतम प्रदेशसभामा विजयी भएका छन् । उनी १३ हजार ५ सय ३१ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी २०७४ मा विजयी भएका माओवादी केन्द्रका कुलबहादुर साम्बाले १० हजार ४ मत पाए ।

सोही निर्वाचन क्षत्रेको १(२) मा एमालेकै खड्गबहादुर बस्नेत विजयी भए । बस्नेतले प्रदेश १ का यातायात तथा सञ्चारमन्त्री तथा एकीकृत समाजवादीका नेता उपेन्द्र घिमिरेलाई पराजित गरेका हुन् । जिल्ला समन्वय समितिको पूर्व सभापति रहेका बस्नेतले १४ हजार ५ सय ३९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्धर्पी घिमिरेले १३ हजार ८ सय ६३ मत पाए ।

मोरङ क्षेत्र नं. २(१) मा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती सुशील प्रदेशसभामा विजयी भएका छन् । उनले १४ हजार ९ सय ३३ मत पाए । उनका प्रतिस्पर्धी एमालेका दानबहादुर कार्कीले १४ हजार ६ सय ७८ मत ल्याए ।

सोही निर्वाचन क्षेत्रको (२) मा एमालेका लीलावल्लभ अधिकारीले १७ हजार ७ सय ५२ मत ल्याएर प्रदेशसभामा विजयी भए । उनका प्रतिस्पर्धी काङ्ग्रेसका विनोद कार्कीले १४ हजार ९ सय ५२ मत ल्याए ।

मोरङ क्षेत्र नं. ३(१) मा काङ्ग्रेसका मानबहादुर लिम्बू १९ हजार ७ सय ४९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्धर्पी दिलिपकुमार राईले १४ हजार ८ सय १७ मत पाए । सोही निर्वाचन क्षेत्रको ३(२) मा एमालेका ज्ञानेन्द्र सुवेदीले १७ हजार ४ सय २८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठले १५ हजार ३ सय ५८ मत ल्याए ।

मोरङ क्षेत्र नं. ४(१) मा एमालेका जयप्रकाश चौधरीले १५ हजार ४ सय ६५ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काङ्ग्रेसका गुरुराज घिमिरेले १५ हजार ५१ मत पाए । सोही निर्वाचन क्षेत्रको ४(२) मा विराटनगर महानगरपालिका पुर्व मेयर तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भीम पराजुली विजयी भएका छन् । पराजुलीले १५ हजार ४ सय ६५ मत ल्याएर प्रदेशसभामा विजयी हुँदा उनका प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६ सय ९९ मत पाए ।

मोरङ क्षेत्र नं. ५(१) मा काङ्ग्रेसका गयानन्द मण्डलले १४ हजार ८ सय ४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका सन्तोष साहले ९ हजार ४ सय २ मत ल्याएका छन् ।

सोही निर्वाचन क्षेत्रको ५(२) मा काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले १६ हजार १ सय २ मत ल्याएर विजयी भएका छन् । उनले प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई पराजित गरेका हुन् । यादवले १० हजार ८ सय २४ मत पाए । २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट यादव विजयी भएका थिए ।

मोरङ क्षेत्र नं. ६(१) मा माओवादी केन्द्रका जीवन आचार्यले १९ हजार ४ सय ५४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी रीता न्यौपानेले १७ हजार ५ सय ७१ मत ल्याएकी छन् ।

सोही निर्वाचन क्षेत्रको ६(२) बाट प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री  केदार कार्की विजयी भएका छन् । उनले १० हजार ४ सय ३१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार पर्शुराम बस्नेतले ९ हजार २ सय ५५ मत ल्याएका छन् ।