विजयपुर । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतगणना ३ दिन र हप्ता दिनमा समानुपातिकसहित निर्वाचनको सम्पूर्ण मतपरिणाम निकाल्ने जनाएको थियो ।

तर, आयोगको लक्ष्यअनुरूप मतगणना हुन सकेन । सुनसरी क्षेत्र नं. १ को मतगणना ५ गतेदेखि सुरु गरेको आज (आइतबार) एक हप्ता भयो । मतगणना सम्पन्न गर्न अझै २ दिन लाग्ने सुनसरी क्षेत्र नं. १ का निर्वाचन अधिकृत रुद्र अर्याल बताउँछन् । उनी भन्छन्, ‘विवाद नभएमा २ दिनसम्ममा सम्पन्न गर्छौं ।’

उनी आयोगको लक्ष्यअनुसार मतगणना ढिलाइ हुनुमा पर्याप्त कर्मचारी नहुनु, मतगणना गर्ने स्थान कम हुनु रहेको बताउँछन् । उनी भन्छन्, ‘बेलाबेला विवाद आउँदा केही ढिलो भयो । कर्मचारीको केही अपर्याप्तता छ । पहिले नै कम कर्मचारी दिइएको थियो ।’ 

उनी प्रदेशसभा, प्रतिनिधिसभा र समानुपातिक मत क्रस हुँदा सबै एकै पटक गणना गरेकाले ढिलाइ भएको बताउँछन् । उनी भन्छन्, ‘१ लाख मतपरिणाम निकाल्न ४ लाख गणना गर्नुपर्छ ।’ हालसम्म ४ निर्वाचन क्षेत्र रहेका सुनसरीमा प्रतिनिधिसभाको कुनै पनि क्षेत्रको मतगणना सम्पन्न भएको छैन ।

त्यस्तै मोरङ र झापाको पनि मतगणना जारी नै छ । निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेल प्रदेशसभा, प्रतिनिधिसभासहित समानुपातिकको पनि मतगणना गणना गरेकाले ढिलो भएको बताउँछन् । उनी जनशक्तिको अभाव भने नभएको दाबी गर्छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेल प्रत्यक्षको ३ दिनमा सम्पन्न गर्ने समानुपातिकको एक हप्तामा मतगणना सकिने बताउँछन् । उनी भन्छन्, ‘धेरै ठाउँमा ५ गतेबाट मात्रै मतगणना सुरु भयो । एक हप्तामा सकिन्छ भन्ने छ । एक हप्ता १२ गते मात्रै हुन्छ ।’ उनका अनुसार ७० प्रतिशत मतगणना गरिसकेको छ । 

उनी भन्छन्, ‘प्रत्यक्षको ३ दिनमा सक्ने भन्ने थियो । निर्वाचनमा मतपत्र क्रस भएपछि आयोगले प्रत्यक्ष र समानुपातिकको सँगै मतगणना गर्न निर्देशन दियो ।’ सबै मतगणना एकैचोटी गर्दा ढिलो भएको उनी बताउँछन् ।