विराटनगर  । प्रदेश नम्बर १ को प्रदेशतर्फ ५६ वटा निर्वाचन क्षेत्रमध्ये १० निर्वाचन क्षेत्रको मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार ४ क्षेत्रमा नेपाली काङ्ग्रेस,  एमाले ३ र माओवादीका २  र राप्रपाको १ जना उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यो समाचार तयार पार्दासम्म प्रदेशका अन्य ४६ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।  

मोरङका १२ वटा प्रदेशतर्फको निर्वाचन क्षेत्रमध्ये दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा काङ्ग्रेस र एमाले प्रदेशतर्फ १–१ वटा निर्वाचन क्षेत्रमा विजयी भएका छन् ।

मोरङ क्षेत्र नं. ४(१) मा  एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काङ्ग्रेसका नेता गुरुराज घिमिरेलाई ४ सय ७ मतअन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४ सय ६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् ।

यस्तै मोरङ क्षेत्र नं. ५(१) मा नेपाली काङ्ग्रेसका गयानन्द मण्डल गनगाईं निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नेकपा (एमाले)का उम्मेदवार सन्तोषकुमार साहलाई ५ हजार चार सय ४१ मतले मण्डलले पराजित गरेका हुन् । एमाले उम्मेदवार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् । राप्रपाका सोनलकुमार गुप्ताले १ हजार ९ सय मत ल्याएका छन् ।

प्रदेशसभामा निर्वाचित भएका मण्डल काङ्ग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

उदयपुर २ मा प्रदेशसभाका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उदयपुर क्षेत्र नं. २(१) मा माओवादी केन्द्रका नारायण बुर्जा मगरले झिनो मत अन्तरले जितेका छन् । उनी एमालेका उम्मेदवार देवराज राईलाई ३५ मतले हराउँदै प्रदेशसभामा निर्वाचित भएका हुन् । मगरले ८ हजार १ सय ५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका राईले ८ हजार ७० मत मात्र ल्याए ।

सोही निर्वाचन क्षेत्रको २(२) मा नेपाली काङ्ग्रेसका उम्मेदवार रामकुमार खत्रीले १२ हजार ६ सय २७ मत ल्याएर निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी एमालेका जीवनाथ दाहाललाई ३ हजार ३ सय ९१ मत अन्तरले पराजित गरेका हुन् । दाहालले ९ हजार २ सय ३६ मत मात्र ल्याए ।

यस्तै ओखलढुङ्गा १(१) मा काङ्ग्रेसका प्रदीपकुमार सुनवार १४ हजार ९ सय १६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका अम्बिरबाबु गुरुङले १४ हजार ५ सय ५६ मतमात्र ल्याए ।

ओखलढुङ्गाको २(१) मा माओवादी केन्द्रका बाबुराम गौतम १५ हजार ७ सय ३८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६ सय ४० मत मात्र ल्याएका छन् ।

यस्तै झापा २ को प्रदेशतर्फको दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । झापाको २(१) मा एमालेका एकराज कार्कीले फराकिलो मतअन्तरले एकीकृत समाजवादी पार्टीका उम्मेदवार पुष्पराज पोखरेललाई हराउँदै विजयी भएका हुन् । एमालेका कार्कीले १८ हजार ७ सय ३१ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा उनका प्रतिस्पर्धीले ६ हजार १ सय १ मत पाएका छन् ।

सोही निर्वाचन क्षेत्रको २(२) मा एमालेका तिलचन पाठकले ३० हजार १ सय ८५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी काङ्ग्रेसका खगेन्द्र मैनालीले १६ हजार ३ सय ४५ मत ल्याएका छन् ।

यस्तै झापा क्षेत्र नं. १(१) मा काङ्ग्रेसका गोपाल तामाङले एमालेका नेता रविन कोइरालालाई ४ हजार ३ सय ८८ मतले हराउँदै प्रदेशसभामा जितेका हुन् । तामाङले २३ हजार ४५ मत ल्याएर विजयी हुँदा एमालेका कोइरालाले १८ हजार ६ सय ५७ मत पाएका छन् । झापाको क्षेत्र नं. १(२) मा राप्रपाकी सविना बजगाईं १३ हजार ६ सय १२ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामवीर लिम्बूले १२ हजार २ सय २५ मत मात्र ल्याएका छन् ।