सुनसरी । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू घरदैलोमा भोट माग्न व्यस्त छन् ।

चारवटा प्रतिनिधिसभा र आठवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुनसरीमा केही स्थानबाहेक यसपटक पनि नेपाली काङ्ग्रेस र नेकपा (एमाले)का उम्मेदवार नैमुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । त्यसमध्ये सुनसरी क्षेत्र नं. ४ अहिले चर्चामा छ । यस क्षेत्रमा काङ्ग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट जगदीश कुसियत चुनावी मैदानमा छन् ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका काङ्ग्रेसका कार्की यसपटक पुनः उम्मेदवार बनेका छन् । यसपटकको निर्वाचनमा कार्की सत्ता गठबन्धनतर्फका नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनमोर्चाका साझा उम्मेदवार हुन् भने एमालेका कुसियत पनि नेकपा (एमाले)सँगै जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसहितका राजनीतिक दलका साझा उम्मेदवार हुन् ।

कार्की २०७४ सालमा आफ्नो जन्मस्थल भोजपुर छाडेर सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनी वर्तमान सूचना, सञ्चार प्रविधि एवम् कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रीसँगै सरकारको प्रवक्तासमेत हुन् । यता एमालेका उम्मेदवार कुशियत २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य जित्दै प्रदेश १ को  उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री बनेका थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट कोसी गाउँपालिका अध्यक्ष पदका प्रत्यासी अजयकुमार कुशियतले २०७४ सालमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मतदाताले कार्कीलाई अवसर दिए पनि अवसरको सही सदुपयोग हुन नसकेका कारण यसपटक जनता परिवर्तनको पक्षमा रहेको चुनावीसभामा बोल्ने गरेका छन् । २०७४ सालको निर्वाचनमा कार्कीसँग पराजित तत्कालीन बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गरेका थिए । यस्तै सुनसरी क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभातर्फ नेपाली काङ्ग्रेसका उम्मेदवार रेवतीरमण दुलाललाई झिनो मतले हराउँदै जगदीशप्रसाद कुशियत निर्वाचित भएका थिए । त्यतिबेला कुशियतले १६ हजार ६ सय ९० मत ल्याउँदा नेपाली काङ्ग्रेसका उम्मेदवार दुलालले १५ हजार दुईसय ८२ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएर साढे तीनवर्ष शेरधन राई नेतृत्वको प्रदेश नम्बर १ सरकारमा उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका कुशियत यसपटक भने कार्कीका प्रतिस्पर्धी हुन् । अघिल्लो निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ (२) बाट नेपाली काङ्ग्रेसका ताहिर अन्सारीले ११ हजार ८ सय २५ मत ल्याएर निर्वाचित भएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी तत्कालीन बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जाकिर हुसेनले ७ हजार ६ सय ७० मत प्राप्त गरेका थिए ।

क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदको लागि नेपाली काङ्ग्रेसका उम्मेदवार कार्की उम्मेदवार छन् भने  सुनसरी क्षेत्र नम्बर ४(१) मा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल र ४ (२) बाट नेपाल मुस्लिम सङ्घ प्रदेश नम्बर १ का सभापतिसमेत रहेका डा.इसराइल मन्सुरीले प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएका छन् । यस्तै नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य पदको लागि कुशियतले उम्मेदवारी दिएका छन् भने सुनसरी क्षेत्र नम्बर ४ (१) तर्फबाट नेकपा (एमाले)को समर्थनमा जनता समाजवादी पार्टी नेपालका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएका छन् भने ४ (२) मा केही समयअगाडि नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका अब्बास अन्सारीले उम्मेदवारी दिएका छन् ।

यस्तो छ स्थानीय तह निर्वाचनको नतिजा
जम्मा ६ वटा स्थानीय तह रहेको यस निर्वाचन क्षेत्रमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामअनुसार नेपाली काङ्ग्रेस पार्टी बलियो देखिन्छ । गत स्थानीय तह निर्वाचनबाट यस निर्वाचन क्षेत्रमा पर्ने कोसी, भोक्राहा नरसिंह, हरिनगर गाउँपालिका र इनरुवा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै नेपाली काङ्ग्रेस पार्टीले जितेका छन् भने कम्युनिष्टको पकड भएको क्षेत्र मानिएको वराहक्षेत्र नगरपालिकाको प्रमुखमा काङ्ग्रेसले जितेको छ भने उपप्रमुख नेकपा (एमाले)ले जितेको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने कोसी गाउँपालिकामा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारले ६ हजार चारसय १६ मत ल्याएर निर्वाचित भएका थिए भने पाँच हजार २ सय १७ मत ल्याएर जनता समाजवादी पार्टी नेपाल दोस्रो र ३ हजार २ सय ५८ मत ल्याएर नेकपा (एमाले) तेस्रो भएको थियो । यस्तै नेकपा (माओवादी केन्द्र) ले प्रमुखमा ७ सय ११ र नेकपा (एस)ले ३ सय ७८ मत ल्याएका थिए ।

कोसी गाउँपालिकामा रहेका आठवटा वडाहरूमध्ये नेपाली काङ्ग्रेसले चारवटा जितेको छ भने जसपाले दुई तथा नेकपा (एमाले) र माओवादी केन्द्रले एउटा–एउटा वडा जितेको छ । यस्तै भोक्राहा नरसिंह गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसले ४ हजार ९ सय ९३ मत ल्याएर जितेको थियो भने ३ हजार ६ सय ५५ मत ल्याएर नेकपा (एमाले) दोस्रो र २ हजार २ सय २१ मत ल्याएर जसपा तेस्रो भएको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १ हजार ७ सय ३९ मत ल्याएका थिए भने नेकपा (एस) का उम्मेदवारले सातसय १९ मत प्राप्त गरेका थिए ।

भोक्राहा नरसिंह गाउँपालिकामा ८ वटा वडाहरू रहेकोमा चारवटा नेपाली काङ्ग्रेस, तीनवटा राप्रपा र एउटा वडा नेकपा (एस) पार्टीले जितेको छ । त्यसैगरी हरिनगर गाउँपालिकाको प्रमुख नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारले ६ हजार एकसय ७२ मत ल्याएर निर्वाचित भएको थियो भने निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवारले पाँचहजार एकसय ५४ मत प्राप्त गरेका थिए ।

हरिनगर गाउँपालिकामा ७ वटा वडाहरू रहेकोमा सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत वडा नम्बर ३ बाहेक ६ वडाहरू पर्छन् । जसमध्ये नेकपा (एमाले) र नेपाली काङ्ग्रेसले दुई–दुईवटा जितेका छन् भने जसपा नेपाल र नेकपा (एस)ले एउटा–एउटा वडा  जितेको छ । 

६ वटा वडाहरू सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत रहेकोमा वराहक्षेत्र नगरपालिकाको प्रमुख नेपाली काङ्ग्रेसले जितेको छ भने उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । यस निर्वाचन क्षेत्र अन्तर्गत पर्ने जम्मा ६ वटा वडाहरूमध्ये नेपाली काङ्ग्रेस पार्टीले सबै वडाहरू जितेको छ । यस्तै तीनवटा वडाहरू क्षेत्र नम्बर ४ मा पर्ने इनरुवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

यस निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वडाहरूमध्ये दुईवटा नेकपा (एमाले) र एउटा वडा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ । यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत नै पर्ने रामधुनी नगरपालिका वडा नम्बर ४ मा पनि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

कोसी र भोक्राहा नरसिंह गाउँपालिकाका सबै अर्थात् आठ–आठ, वराहक्षेत्र नगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, १० र ११, हरिनगर गाउँपालिका वडा नम्बर ३ बाहेक १, २, ४, ५, ६ र ७, इनरुवा नगरपालिकाका वडा नम्बर ३, ४ र ८ र रामधुनी नगरपालिकाको वडा नम्बर ४ सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्दछन् भने प्रदेशसभा (१) तर्फ १५ वटा र प्रदेशसभा (२) तर्फ १७ वटा वडाहरू पर्छन् । प्रदेशसभा (१) मा ३५ हजार दुई ७० महिला र ३२ हजार तीनसय ६३ गरी जम्मा ६७ हजार ६ सय ३३ मतदाता छन् भने प्रदेशसभा (२) तर्फ पुरुष ३३ हजार दुईसय ३२ र महिला २७ हजार दुईसय गरी ६० हजार चारसय ३२ मतदाता छन् ।