विराटनगर । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन १ नं. प्रदेशस्तरीय गोष्ठी सकिएको छ ।
विराटनगरमा दिनभरि घनिभुत रूपमा छलफल गर्दै सुरक्षा निकायका प्रमुखहरूसहितको उपस्थितिमा भएको सुरक्षा बैठक शनिबार सकिएको हो ।
मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले बैठकमा निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार निर्वाचनको सबै तयारी पूरा भए पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय रहेको बताए । ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन् । कुनै समूहमा धेरै सङ्ख्या पनि छ’–उनले भने ।
निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरूका गतिविधि रोक्न जिल्ला तहका सुरक्षा निकायले ध्यान दिनुपर्ने अवस्था रहेको उनले बताए । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पोखरेलले बताए ।
निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको उनले बताए ।
लोकतन्त्रलाई परिस्कृृत गर्ने माध्यम निर्वाचन भएकाले चुनावका बेला भड्किलो अवस्था आउन नदिन सबै पक्षले सावधानी अपनाउनुपर्नेमा उनको जोड छ । फरक बोलीले स्थिति भड्कियो भने त्यसको जिम्मेवार आफै हुनुपर्ने उनले बताए । पोखरेलले एकै चरणमा निर्वाचन सम्पन्न गराउँदा ठूलो मात्रामा सुरक्षा जनशक्ति परिचालन गर्नुपर्ने भएकाले व्यक्तिगत सुरक्षा सम्भव नहुने जानकारी दिए ।
‘प्रादेशिक सुरक्षा गोष्ठी निर्वाचनलाई निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न अहिलेसम्म भए÷गरेका वस्तुस्थितिको समीक्षा र अपनाउनुपर्ने रणनीतिमा केन्द्रित हुन्छ’–उनले भने ।
निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित २ लाख ९८ हजार ५ सय ७९ सुरक्षाकर्मी परिचालन हुनेछन् । यसबाहेक सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति पनि खटिँदै छन् । सेना र सशस्त्रलाई बाहिरी सुरक्षा तथा प्रहरी र म्यादीलाई मतदानस्थल र मतदान केन्द्रको सुरक्षामा खटाउने निर्णय भइसकेको छ ।
निर्वाचन आयोगले मतदानका लागि १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र निर्धारण गरेको छ । तय भएका मतदानस्थलमध्ये एकतिहाइ मतदानस्थल अतिसंवेदनशील सूचीमा समेटिएका छन् । गृहका अनुसार ३ हजार ८० मतदानस्थल अतिसंवेदनशील, ४ हजार ४ सय २० संवेदनशील र ३ हजार ३ सय ९१ कम संवेदनशील सूचीमा समेटिएका छन् ।
गोष्ठीको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले गरे । उनले प्रदेशको सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार गम्भीर रहेको बताए । ‘प्रदेश १ ले शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेको छ’ उनले भने, ‘निर्वाचन सफल बनाउन सुरक्षा निकाय सक्रिय बनेका छन् ।’ दैनिक काम कारबाहीसँगै निर्वाचनलाई सफल बनाउन शान्ति सुरक्षालाई खलल पुर्याउने समूहको पहिचान गरेर नियन्त्रण गर्न सुरक्षा संयन्त्रले काम गरिरहेको कार्कीले बताए ।
निर्वाचनलाई लक्षित गरेर अवरोध पु¥याउने सम्भावित स्थानको ‘रेकी’ गर्ने काम भइरहेको जानकारी उनले दिए । द्वन्द्व व्यवस्थापनका लागि राजनीतिक दलसँग समन्वय गरेर शान्ति सुरक्षा मजबुत बनाउने विषयमा कुनै सम्झौता नगरिने उनले स्पष्ट पारे ।
गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा गृह सचिव विनोदप्रकाश सिंह, प्रदेश १ का निमित्त प्रमुख सचिव किशोरकुमार चौधरी, नेपाली सेनाका बलाधिकृत विभागका रथी सरोजप्रताप राण, नेपाल प्रहरीका महानिरीक्षक आइजिपी धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतुराज थापा, नेपाली सेना, पूर्वी पृतनापति उपरथी सहदेव खड्का, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदीप गिरी, प्रदेश १ का १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।