संसदीय प्रणाली भएका मुलुकहरूमा दलहरू बिच समीकरण हुनु नौलो कुरा नभएको सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार  अशोक कुमार राईले बताएका छन् । नेकपा एमाले र जसपाले चुनावी तालमेल गरेपछि दुवै दलको साझा उम्मेदवार बनेका राईले   नेपालको संविधान नै दुई वा दुई भन्दा बढी दलहरू मिलेर जान निर्देशित गरेको भन्दै  नेपालमा गठबन्धनको संस्कृति २०४६ सालको प्रजातान्त्रिक आन्दोलनबाट सुरु भएको बताएका छन् । ।

बुधवार  धरान १९ स्थित  होटल   ड्रिमल्याण्ड प्रेस चौतारी नेपाल धरान उपमहानगर कमिटी र वराहक्षेत्र नगर कमिटीले आयोजना गरेको सञ्चारकर्मीहरूबाट सुझाव सङ्कलन कार्यक्रममा राईले उक्त कुरा बताएका हुन् ।

राईले भने  ‘हामीले संविधानमा नै मिश्रित निर्वाचन प्रणाली व्यवस्था गर्‍यौ, यो भनेको यस्तो सिस्टम हो, जहाँ एउटा पार्टीको बहुमत अपवादमा मात्रै हुने गर्छ । हाम्रो सिस्टमले नै के भनेको छ भने २ वा २ भन्दा बढी दलहरू मिलेर, सहकार्य गरेर जानुपर्छ,’उनले भने,‘त्यो हिसाबले तालमेल गरेर जानुपर्छ, र समीकरण बनाएर मात्र मुलुकको हाम्रो चालु प्रणालीलाई अगाडि लिएर जान सकिन्छ भन्ने कुरा संविधानले नै निर्दिष्ट गरेको छ ।’

उनले २०७४ को निर्वाचनमा बनेको समीकरण अभ्यास र अनुभवले उक्त समीकरण प्राकृतिक, स्वाभाविक नभएको महसुस भएको बताउँदै, यसपालि एमालेसँग भएको तालमेल स्थायी प्रकृतिको हुने विश्वास व्यक्त गरेका थिए । 

उनले  धरान सभाहलको निर्माण,  मदन भण्डारी राजमार्ग र तमोर करिडोरको माध्यमबाट  धरानको पुरानो व्यापारिक साख फर्काउन पनि प्रतिनिधि सभामा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । 

सुझाव सङ्कलनका क्रममा उपस्थित पत्रकारहरूले  धरान प्रदेशकै पुरानो सहर भए पनि आशातीत विकास नभएको र यसको विकासका लागि दिगो विकासका योजना ल्याउनुपर्ने बताएका थिए  भने सुनसरी क्षेत्र नम्बर १ का विभिन्न प्रकारका समस्यहरूको पनि अवगत गराएका थिए । 

कार्यक्रममा सुनसरी क्षेत्र नम्बर  १ 'क' बाट उम्मेदवार  प्रदेश सभा सदस्यको उम्मेदवार बनेका एमालेका नेता  रमेशकुमार बस्नेतले पार्टीले सार्वजनिक गरेका प्रतिबद्धताहरू पूरा गर्न प्रतिबद्ध रहने  बताए भने क्षेत्र नम्बर  १ 'ख' बाट उम्मेदवार  प्रदेश सभा सदस्यको उम्मेदवार बनेका अर्का एमालेका नेता  विजयकुमार राईले नेकपा एमाले सरकारमा पुग्यो भने सबै खाले समस्या समाधान गर्न सक्षम रहेको बताए ।