विजयपुर । नेकपा (एमाले) को निर्णयप्रति असहमति जनाउँदै सुनसरी क्षेत्र नं. १ बाट  स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्बोले घोषणा–पत्र सार्वजनिक गरेका छन् ।

बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै उनले १ सय ६ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन् । धरानका पूर्व नगरप्रमुखसमेत रहेका मेन्याङ्वोले पार्टीको अदूरदर्शी, अपारदर्शी र गलत नीतिलाई शुद्धीकरण गर्न, भ्रष्टाचार, ढिलासुस्ती, उदासिनता र जनतालाई बेवास्ता गरेर अगाडि बढ्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले दलहरूको हैकमवादको अन्त्य र जनचाहनाको सम्मान गर्न पनि उम्मेदवारी दिएको बताए । मेन्याङ्वोले प्रतिबद्धता–पत्रमा आफू विजयी भएमा सुनसरी क्षेत्र नं. १ को गुमेको साख फर्काउने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई देशकै उत्कृष्ट शिक्षण अस्पताल बनाउने, शिक्षाको केन्द्रका रूपमा विकास गर्ने, व्यापारिक सहरका रूपमा विकास गर्ने, सबैलाई बास र स्वाभिमान, मेरो अभियान लागू गर्ने प्रतिबद्धता गरेका छन् ।

त्यस्तै क्षेत्र नं. १ लाई खेलकुदको केन्द्र बनाउने, पूर्वाधारको विकास गर्ने, आत्मनिर्भर समाज निर्माण गर्न स्वरोजगार बनाउने, खानेपानीको दीर्घकालीन समाधान गर्ने, सबै जातजातिले मातृभाषाको प्राथमिक शिक्षा पाउने व्यवस्था गर्ने, सुकुम्बासीमुक्त क्षेत्र बनाउन पहल गर्ने, विशेष परिस्थितिका व्यक्तिलाई सहुलियत दिँदै शिक्षा र रोजगारीको व्यवस्था गर्ने, रामधुनी–६ र ७ का मुसहर बस्तीका जनताका लागि विशेष प्याकेजको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

पैदलयात्रीका लागि ट्रयाक खोल्ने, औद्योेगिक उत्पादन प्रदर्शनीस्थलको व्यवस्था गर्ने, नियमविपरीत र मनोमानी ढङ्गले सञ्चालित सहकारीलाई नियमन गर्ने नीति तर्जुमा गर्ने, सहरका घरहरूमा कौसीखेतीको प्रविधि भिœयाई कृषिको आधुनिकीकरण गर्ने प्रतिबद्धता गरेका छन् । साथै तीन पाङ्ग्रे सवारी साधनको लाइसेन्स दिने प्रक्रिया सहज बनाउने, कोशी राजमार्ग ६ लेन सडकको अन्यौलतालाई केन्द्रीयस्तरबाट समाधानको पहल गर्र्नेलगायतका प्रतिबद्धता गरेका छन् ।

मेन्याङ्वोले सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै आफू निर्वाचित भए पनि स्वतन्त्र नै रहने बताएका छन् । ‘म पार्टीको गलत प्रवृत्तिविरुद्ध उम्मेदवार बनेको हो । निर्वाचित भए पनि स्वतन्त्र सांसद्को रूपमा रहनेछु’ उनले भने, ‘जुनै पार्टीको सरकार बने पनि असल र खराबका आधारमा सरकारलाई समर्थन गर्छु । तर, राजनीतिक दलमा जान्नँ ।’

उनी एमालेका प्रदेश सदस्य थिए । एमालेले सुनसरी क्षेत्र नं. १ मा सर्वसम्मत सिफारिसमा परेका जयकुमार राईलाई अन्तिम समयमा हटाएर जनता समाजवादी पार्टीसँग तालमेल गर्दै अशोक राईलाई उम्मेदवार बनाएपछि मेन्याङ्वोले पार्टी त्यागेको घोषणा गर्दै उम्मेदवारी दिएका थिए । एमालेले भने केही दिनअघि मात्र मेन्याङ्वोलाई कारबाही गरेको विज्ञप्ति जारी गरेको छ ।