इनरुवा । चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा यस पटक सबैभन्दा बढी चासोका रूपमा हेरिएको निर्वाचन क्षेत्र हो ४ नम्बर ।
उक्त निर्वाचन क्षेत्रमा हुन लागेको दुई हेभिवेट नेताको चुनावी भिडन्तले समग्र जिल्लाकै ध्यान खिचेको छ । सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा काङ्ग्रेसबाट सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा छन् ।
अघिल्लो निर्वाचनमा भोजपुरबाट सुनसरी झरेर जित हात पारेका कार्कीले सुनसरी ४ बाट पुनः आफ्नो उम्मेदवारी दोहो¥याएका छन् । यद्यपि सो क्षेत्रका आम मतदाताको बुझाइमा कार्कीका लागि यस पटक मङ्सिर ४ को निर्वाचन अघिल्लो पटकको जस्तो सहज भने छैन । किनकि कार्कीका प्रतिस्पर्धी एमाले नेता जगदीश कुसियत स्थानीय हुन् ।
कोसी गाउँपालिकाको साबिक श्रीपुर घर भएका कुसियत बाबुबाजेको विरासत धान्दै अघि बढेको र समुदायमा मजबुत पकड भएको व्यक्ति भएकाले समेत कार्कीका लागि ठूलो चुनौती बन्न सक्छन् । त्यसका साथै एमाले र जसपाबीचको गठबन्धनले समेत कार्कीलाई यस पटक अप्ठ्यारोमा पार्न सक्छ ।
एक लाख २८ हजार ६५ जना मतदाता रहेको सुनसरी ४ मा कोसी गाउँपालिकाका सबै वडा, वराहक्षेत्र नगरपालिकाको ६, ७, ८, ९, १० र ११ सहित रामधुनीको ४ नम्बर वडा पर्दछ । त्यसैगरी इनरुवाको ३, ४ र ८ नम्बर वडा पर्छ भने भोक्राहा गाउँपालिकाको सबै वडा र हरिनगरको १, २, ४, ५, ६ र ७ नम्बर पर्दछ । मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा दुवै उम्मेदवारका तर्फबाट स्वतन्त्र उम्मेदवार उठाइए पनि डाक्टर खालिद हुसेनले ल्याउने मत कार्की र कुसियत दुवैका लागि निर्णायक सावित हुने सम्भावना रहेको मतदातामाझ चर्चा परिचर्चा हुने गरेको छ ।
जसकारणसमेत आम मतदाताले मङ्सिर ४ गतेको निर्वाचन रोचक हुने अपेक्षा गरेका छन् । यद्यपि मतदातामाझ पार्टीगत धारणा उम्मेदवार अनुकूल देखिए पनि पाँच वर्र्षे अवधिमा भएका विकास निर्माणप्रति उनीहरू सन्तुष्ट भने छैनन् ।
कोसीको मुआब्जा, आशातित विकास निर्माण नहुनु, सञ्चारमन्त्रीको क्षेत्रमा नेटवर्क समस्या ज्यूँका त्यूँ रहनु, जङ्गली जनावर नियन्त्रणका लागि ठोस योजना सञ्चालनमा ल्याउन नसक्न्नु र वाचाअनुसारको काम हुन नसकेको तथा पार्टीका सीमित व्यक्तिलाई काखी च्यापेर हिँड्ने गरेको भनी नेताउपर लाग्ने गरेको ट्याग मत परिणामका लागि निर्णायक बन्न सक्ने आँकलन गरिएको छ । जसलाई यसपटक सो क्षेत्रका मतदाताले आफ्नो बलियो मुद्दा बनाएका छन् ।
यद्यपि सुनसरी ४ मा कार्की र जगदीश दुवै हेभिवेट भएकाले समेत उनीहरू मतदाता रिझाउन हरसम्भव प्रयासरत छन् । दुवै नेताले प्रतिस्पर्धीको तुलनामा आफूलाई अब्बल देखाउन आफ्नो उम्मेदवारी उपर जितको आधारसहितको फेहरिस्त खोलिरहेका छन् ।
निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले चुनावी गतिविधिसमेत बढाउँदै लगेका छन् । मतदातामाझ खासै नदेखिएको उत्साह र नेताका आश्वासन मात्रले आजित भएका जनताले कसलाई मत दिएर जिताउने हुन्, त्यो भने मङ्सिर ४ को निर्वाचनले नै तय गर्नेछ ।