विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले आउँदो चुनावका लागि ‘प्रादेशिक प्रतिबद्धता पत्र’ आइतबार सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रीय समितिले चुनावी घोषणा–पत्र सार्वजनिक गर्नुअघि नै प्रदेश कमिटीले ‘प्रादेशिक प्राथमिकता समेटेर’ प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
प्रतिबद्धता पत्रमा सङ्घीयता कार्यान्वयनदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, उद्योग व्यापार क्षेत्रमा आफूले गर्ने कामका सूचीहरू समेटेर माओवादीले प्रादेशिक चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो । ९३ सदस्यीय प्रदेशसभाको प्रत्यक्षतर्फबाट ५६ जना चुनिन्छन् । यसपटक माओवादीले प्रत्यक्षतर्फ १९ क्षेत्रमा उम्मेदवारी दिएको छ । वर्तमान सत्ता गठबन्धनको मुख्य घटक माओवादी केन्द्रले सङ्घीयताको जननी नै आफू भएको दाबी गर्दै माओवादी नेतृत्वमा मात्रै सङ्घीयता सबल हुने बताएको छ ।
‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार, सुदृढ सङ्घीयतासहित समृद्ध प्रदेशका लागि माओवादी सरकार’ भन्ने मुख्य नारासहित सार्वजनिक प्रतिबद्धता–पत्रमा माओवादीले ‘हामीले व्यवस्था बदल्यौं, अब अवस्था बदल्नु छ’ भन्ने अर्को नारा पनि समेटेको छ ।
सङ्घीयता कार्यान्वयनको मुद्दा आफ्नो प्रमुख प्राथमिकता भएको माओवादी प्रदेशले जनाएको छ । जसमा उसले प्रदेश राजधानीको लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारको निर्माण कार्य आगामी ५ वर्षभित्रमा सम्पन्न गर्ने, संविधानअनुसार प्रदेशमा हस्तान्तरण हुन बाँकी रहेका सङ्घीय मन्त्रालय मातहतका निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउने प्रतिबद्धता जनाएको छ ।
सङ्घीयता कार्यान्वयन र प्रदेशलाई बलियो बनाउन आवश्यक संरचना, कानून र नीति निर्माण गरी कार्यान्वयन गर्ने, प्रदेश प्रहरी गठन गरी शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्ने प्रतिबद्धता पनि माओवादीको छ । प्रतिबद्धता–पत्रमा भनिएको छ– ‘स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माण र सङ्घीयता कार्यान्वयनको कामलाई अगाडि बढाउने र आम प्रदेशवासीको भावना र अपनत्व हुने पहिचान झल्कने गरी प्रदेशको नामकरण गरिनेछ ।’
प्रदेशको आर्थिक विकास र समृद्धिका लागि आवश्यक स्रोतको पहिचान एवम् परिचालन गर्दै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण तयार गर्ने प्रतिबद्धता पनि माओवादीको छ । ‘बजारको आवश्यकता र मागअनुसार प्रदेशको विशिष्ट उत्पादनको कार्यक्रममा जोड दिइनेछ’ प्रतिबद्धता–पत्रमा उल्लेख छ–‘प्रदेशको रणनीतिक महŒवका र रूपान्तरणकारी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न सकिने तुलनात्मक लाभका वस्तु तथा सेवाको पहिचान गरिनेछ ।’
प्रदेशका १४ वटै जिल्लालाई विशेष उत्पादन क्षेत्रमा वर्गीकरण गरेर कृषि उत्पादनलाई व्यावसायीकरण गर्ने, कृषि क्षेत्रको उत्पादन वृद्धि गरी आत्मनिर्भरता र निर्यातमा जोड दिने, प्रदेशमा उत्पादन हुने नगदेबाली, मौसमी बाली, फलफूललगायतको उत्पादन वृद्धि गर्न पकेट क्षेत्र, ब्लक र जोनको रूपमा विकास गर्ने माओवादीको योजना छ ।
कृषि, पशु अनुदानलाई व्यवस्थित प्रभावकारी र पारदर्शी बनाउँदै कृषि उद्योग व्यवसाय गर्न सस्तो ब्याजदरमा सहज र सरल तरिकाले कर्जा उपलब्ध गराउने र उत्पादनको आधारमा अनुदान उपलब्ध गर्ने नीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख छ । प्रतिबद्धता–पत्रमा भनिएको छ–‘प्रदेशलाई चाहिने आवश्यक जनशक्तिको प्रक्षेपण गरी सोही अनुसारको जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना गरिनेछ । सबै निर्वाचन क्षेत्रमा कम्तिमा एउटा सुविधायुक्त बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक शिक्षा अध्ययन गर्ने र दक्ष जनशक्ति उत्पादन गरिनेछ ।’
माओवादीले प्रदेशका सबै स्थानीय तहमा प्राविधिक धारको विद्यालयसहितको नमुना विद्यालय बनाउने प्रतिबद्धता पनि उल्लेख गर्दै भनेको छ–‘सामुदायिक विद्यालयहरूलाई आवश्यक भवन तथा ल्याव र दरबन्दीसहित शैक्षिक पूर्वाधारसम्पन्न र शैक्षिक गुणस्तयुक्त बनाइनेछ । गुणस्तरीय प्रविधियुक्त शिक्षा सामुदायिक विद्यालयबाटै प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।’
सबै जिल्ला अस्पतालहरूलाई न्यूनतम् ५० शøयामा विस्तार गर्दै विशेषज्ञ डाक्टरसहितको दरबन्दी र उपकरणको व्यवस्था गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने जनाउँदै प्रतिबद्धता–पत्रमा भनिएको छ–‘स्थानीय तहमा निर्माणाधीन ५ देखि १५ शøयाका अस्पताल निर्माण छिटोभन्दा छिटो सम्पन्न गरी आवश्यक उपकरण र डाक्टरसहितको दरबन्दी व्यवस्था गरी आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ ।’ गर्भवती महिलाहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण र प्रसूतिको व्यवस्था, आङ खस्ने, पाठेघरको समस्या तथा स्तन क्यान्सरको निःशुल्क उपचार गर्नेदेखि ज्येष्ठ नागरिकको लागि दन्त उपहार कार्यक्रम सञ्चालन गर्ने, हेमोफेलिया, थालेसेमिया र अटिजम, अब्स्ट्रेटिक फिस्टुलालगायतमा निःशुल्क उपचारको व्यवस्था मिलाउने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
पूर्वाधार क्षेत्रमा पनि माओवादीले महत्वाकाङ्क्षी योजनाहरू समेटेको छ । प्रदेशको राजधानी विराटनगर केन्द्रीत बृहत् चक्रपथ निर्माणको योजना अगाडि बढाउने, प्रदेशमा निर्माणाधीन सडक, पुल, भवनजस्ता आयोजना समयमा नै सम्पन्न गराउने, प्रत्येक गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक, अन्तरस्थानीय तह जोड्ने सडक र मुख्य तथा महŒवपूर्ण पर्यटकीय केन्द्रलाई जोड्ने सडक कालोपत्रे गर्ने, सबै वडासम्म पुग्ने सडकको स्तरोन्नति गरी वर्षभरि सञ्चालन हुनसक्ने अवस्थाको बनाउने प्रतिबद्धतामा उल्लेख छ । तटबन्ध निर्माण र सहरी क्षेत्रको डुबान समस्या समाधानको लागि आवश्यक योजना सञ्चालन गर्ने पनि उसको वाचा छ ।
कृषियोग्य सबै जमिनमा सिंचाइको व्यवस्था गर्न नहर, कुलो सिँचाइ, लिफ्टिङ सिँचाइ, थोपा सिँचाइ आदिको व्यवस्था गर्ने भन्दै प्रतिबद्धता पत्रमा भनिएको छ–‘सुख्खाग्रस्त क्षेत्रहरूमा लिफ्टिङ प्रविधिमा आधारित सिँचाइको व्यवस्था गरी उत्पादन वृद्धिमा जोड दिइनेछ ।’ तमोर र उपल्लो अरुण जलाशययुक्त आयोजना निर्माण कार्य अगाडि बढाउन आवश्यक पहल गर्ने, प्रदेश सरकारको लगानी र सहकारीमा मझौला विद्युत् आयोजना सञ्चालनको काम अगाडि बढाउने तथा निर्माणाधीन खानेपानी आयोजनालाई तीव्र गतिमा सम्पन्न गरी सबै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने पनि प्रतिबद्धतामा उल्लेख छ ।
प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने, स्थानीय तह र पर्यटन सम्बद्ध संस्थाहरूको सहकार्यमा पर्यटन प्रवद्र्धन गरी पर्यटन संस्कृतिको विकास गर्ने भन्दै प्रतिबद्धता–पत्रमा प्रदेशमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने वाचा पनि माओवादीले गरेको छ । एक घर, एक रोजगारी कार्यक्रममार्फत् प्रदेशबासीलाई उत्पादनसँग जोडेर गरिबी निवारण गर्ने, अव्यवस्थित बसोबास र भूमिहीन सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराई धनीपुर्जाको व्यवस्था गर्ने, महिला, दलित तथा बालबालिकामाथि हुने सबैखाले हिंसा र विभेद अन्त्य गर्न कानूनी तथा नीतिगत प्रबन्ध गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
‘जसको नीति उसैको नेतृृत्व’ हुनुपर्ने भन्दै प्रतिबद्धता–पत्रमा भनिएको छ– ‘जसको एजेण्डा उसैको सरकार अनि जसको योजना उसैको कार्यक्रम भयो भने मात्र निर्दिष्ट लक्ष्य चुम्न सकिन्छ ।’