सुनसरी । निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा चुनावी माहोल तात्तिँदै गएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचन आउन २० दिन बाँकी हुँदा सुनसरीमा चुनावी माहोल तात्तिँदै गएको हो ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीका राजनीतिक दलहरूले प्रचार–प्रसार अभियानलाई तीव्रता दिएका छन् । प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि चारवटा र प्रदेशसभा सदस्यका लागि आठवटा निर्वाचन क्षेत्र रहेकोे सुनसरीमा यसपटक २ सय ४ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएको हुँदा सदरमुकाम इनरुवासहित गाउँदेखि सहर चुनावमय बनेको इनरुवावासी राजेन्द्रप्रसाद भण्डारीले बताए । केही राजनीतिक दलहरूले आफ्ना चुनावी एजेन्डासहित भोट माग्न आउने गरेकोमा अधिकांशले भने त्यतिकै मतदाता रिझाउँदै गरेको उनले बताए ।
आम निर्वाचनको मिति नजिकिँदै गएपछि उम्मेदवारका साथै मतदाताहरू पनि आफ्ना प्रतिनिधि छान्न उत्साहित देखिएको भोक्राहा नरसिंह गाउँपालिका–८ का हसबुल मियाँ बताउँछन् ।
यसपटकको निर्वाचनमा सत्ता गठबन्धनतर्फ नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र जनमोर्चा पार्टी मिलेर चुनावी मैदानमा छन् भने अर्कोतर्फ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसहितका राजनीतिक दलसँग चुनावी तालमेल गरी नेकपा (एमाले) चुनावमा होमिएको छ ।
‘दिनहुँजसो गाउँ–गाउँमा उम्मेदवार, नेता कार्यकर्ता पुग्दा गाउँ नै अहिले चुनावमय बनेको छ’–कोसी गाउँपालिका–५ का सराजुद्दीन आलमले भने । निर्वाचनपछि जनताका समस्या, गाउँका विकास निर्माण, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइलगायतका समस्याको समाधान गर्नसक्ने सक्षम प्रतिनिधि छनोट गर्न मतदाता उत्साहित देखिएको आलमको कथन छ ।
निर्वाचनका लागि भोट माग्न गाउँ पुग्ने उम्मेदवार, नेता कार्यकर्तासमक्ष मतदाताले गाउँका विविध समस्यासँगै नागरिकताको मुद्दाबारेमा समेत जिज्ञासा राख्ने गरेको सुनसरी क्षेत्र नम्बर ४ प्रदेशसभा ‘क’का उम्मेदवार सदानन्द मण्डलले बताए । पहिला पहिलाको चुनावमा झुठा आश्वासन दिएर निर्वाचित हुने उम्मेदवारलाई नभई दिएको आश्वासन पूरा गर्ने उम्मेदवारलाई भोट हाल्ने पक्षमा आफू रहेकोे कोसी गाउँपालिका–२ का ललित उराँव बताउँछन् । विगतका कयौं निर्वाचनमा आश्वासन दिएर मतदाता कन्भिन्स गराउने उम्मेदवारहरूलाई यसपटकको निर्वाचनमा जित्न मुस्किल हुने उनको भनाइ छ ।
‘हरेक निर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरूले निर्वाचनको बखत घोषणा–पत्रमार्फत् आश्वासन बाँड्ने काम गर्छन्’ उराँवले भने, ‘तर, यथार्थमा आमजनताका आधारभूत आवश्यकतासमेत पूरा हुँदैन । त्यसैले विगतमा गरिएको आश्वासन पूरा नगर्ने उम्मेदवारहरूलाई जनताले पत्याउने छैनन् ।’ राजनीतिक दल तथा अन्य उम्मेदवारहरू नेता, कार्यकर्ता, समर्थकसहित गाउँ–गाउँमा चुनावीसभा गरी घरदैलोमा मतदाता रिझाउन व्यस्त देखिन्छन् ।